प्रकृति संरक्षणमा योगदान पुर्याउनेलाई सैनिक सम्मान
प्रधानसेनापति प्रभुराम शर्माले आज केही सैनिक अधिकृत तथा कर्मचारीलाई प्रकृति संरक्षण पदकबाट सुशोभन गर्नुभएको छ ।
मुलुकका विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुको सुरक्षा जिम्मेवारीमा तैनाथ रहेर प्रशसनीय योगदान पुर्याएका रथीहरु, अधिकृत, पदीकलगायत सकलदर्जालाई उहाँले आज पदक प्रदान गर्नुभएको हो ।
प्रकृति संरक्षणमा पुर्याएको योगदानको कदरस्वरुप २०७५ जेठ १३ गतेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई सम्मान गर्ने निर्णय गरेको थियो । सोहीबमोजिम संरक्षित क्षेत्रमा रहेर एक वर्ष योगदान दिएका सकलदर्जालाई पदक प्रदान गरिँदै आएको बताइएको छ ।
हालसम्म १६ हजार १३६ जना यो पदकबाट सम्मानित भइसकेका छन् । गत असोज ३ गते संविधान दिवसका दिन दुई हजार ८८७ सकलदर्जालाई पदकको घोषणा गरिएको थियो । जसअन्तर्गत आज प्रधान सेनापति महारथी शर्माले जंगी अड्डामा कार्यरत एक जना रथी, १२ जना अधिकृत, दुई पदीक तथा दुई अन्य दर्जाका गरी १७ जनालाई पदकद्वारा सुशोभन गर्नुभएको हो ।
प्रतिकूल मौसम, भौगोलिक विकटता र चोरी शिकारीजस्ता चुनौतीमाझ प्रकृतिको संरक्षण गर्ने ११६ ले वीरगति प्राप्त गरिसकेका छन् ।
टिप्पणीहरू