चितवनमा पनि टाइम कार्ड लागू, समयमा सेवा दिन नसके क्षतिपूर्ति

चितवनमा पनि टाइम कार्ड लागू, समयमा सेवा दिन नसके क्षतिपूर्ति

जिल्ला प्रशासन कार्यालय चितवनले पनि ‘टाइम कार्ड’ लागू गरेको छ । गत बिहीबारदेखि आरम्भ हुनेगरी प्रशासनबाट उपलब्ध हुने सेवामा टाइम कार्ड लागू गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले प्रशासनबाट सेवाग्राहीले प्राप्त गर्ने सेवाका लागि अनावश्यक रुपमा समयको बर्बाद गरी लाइन बस्न नपरोस् भनी टाइम कार्ड लागू गरिएको बताए । उनले भने,‘कर्मचारीहरुलाई सेवा प्रवाहप्रति जिम्मेवार बनाउन टाइम कार्ड कार्यान्वयनमा ल्याएका हौँ । टाइम कार्ड लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतिपूर्ति भरण गराइने छ ।’

टाइम कार्डको कार्यान्वयनपश्चात् समयको सुनिश्चितता, अनावश्यक लाइन बस्नुपर्ने बाध्यता हट्नुका साथै सेवाग्राहीहरुको कर्मचारीप्रतिको धारणामा समेत परिवर्तन आएको उनको भनाइ छ । प्रशासनले राष्ट्रिय परिचयपत्र, राहदानी, नागरिकता र प्रतिलिपि शाखा, मुद्दा शाखालगायतका शाखामा टाइम कार्ड लागू गरेको छ । 

सेवाग्राहीलाई सहज बनाउनका लागि कार्यालय परिसरमा ‘हेल्प डेस्क’ समेत राखिएको छ । जसबाट आवश्यक कागजपत्र पूरा भएको वा नभएको हेरेर सेवाग्राहीलाई सेवाका लागि पठाइने गरिन्छ । साथै, कागजपत्र पूरा भएका सेवाग्राहीलाई मात्र टाइम कार्ड दिइन्छ ।

राष्ट्रिय परिचयपत्रका लागि प्रतिघण्टा ३० जना, राहदानीमा प्रतिघण्टा २० जना र नागरिकता एंव प्रतिलिपि सेवाग्राहीको कागजपत्रका आधारमा एक घण्टाभित्र उपलब्ध गराउने गरी टाइम कार्ड दिने गरिएको जनाएको छ । 

अहिले कार्यालयबाट दैनिक रुपमा राष्ट्रिय परिचयपत्र १९० जना, नागरिकता १५० जना, राहदानी १३० जना सेवाग्राहीले लिने गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । उनले नयाँ नागरिकता बनाउने ८० जना र प्रतिलिपि लिने ७० जना हुने गरेको जनाए ।

टिप्पणीहरू