केन्द्रमा विश्वासको मत दिएको काँग्रेसले पूर्वमा उम्मेदवारी दिएन
प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य बाबुराम गौतमको मात्रै उम्मेदवारी पर्ने भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उम्मेदवारी नदिने निर्णय गरेकाले गौतम सभामुखको एकल उम्मेदवार भएका हुन् ।
सत्ता साझेदार दलहरूको तर्फबाट गौतमले सभामुखका लागि मनोनयन दर्ता गराएका छन् । उनको उम्मेदवारीमा एमालेका रेवतीरमण भण्डारी र माओवादीका नारायण बुर्जा मगर प्रस्तावक छन् भने राप्रपाका गोपालबहादुर विश्वकर्माको समर्थन छ ।
काँग्रेस संसदीय दलको बैठकले प्रदेश १ को सभामुखमा उम्मेद्वारी नदिने निर्णय गरेको काँग्रेस दलका नेता उद्धव थापाले बताए । प्रदेश १ मा सत्ता गठबन्धनमा रहेका एमाले, माओवादी, राप्रपा र जसपाबीच शक्तिको भागबण्डा भएको छ । जसअनुसार एमालेले मुख्यमन्त्री लिएर माओवादीको भागमा सभामुख परेको हो ।
यता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा राख्नुभएको विश्वासको मतको प्रस्तावको पक्षमा प्रतिपक्षमा बसेको नेपाली काँग्रेसले समेत समर्थन जनाएको छ । प्रतिपक्षमा बस्नेगरी काँग्रेसले सरकारलाई विश्वासको मत दिएको बताएको छ ।
टिप्पणीहरू