प्रधानमन्त्रीको पछाडि उड्ने हेलिकोप्टरमा १२ जना

प्रधानमन्त्रीको पछाडि उड्ने हेलिकोप्टरमा १२ जना

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मध्यान्ह गोरखा जाँदै हुनुहुन्छ । उहाँ त्यहाँ ठड्याइएको पृथ्वीनारायण शाहको शालिक अनावरणको निम्ति जान लाग्नुभएको हो । गोर्खा उहाँकै नयाँ निर्वाचन क्षेत्र हो ।

मध्यान्ह १२ बजे बालुवाटारबाट सेनाको हेलिकोप्टरमा प्रधानमन्त्री दाहाल गोरखा सदरमुकाम जाने कार्यक्रम छ । त्यसपछि सेनाको अर्को हेलिकोप्टरमा प्रधान सेनापति प्रभुराम शर्मा पनि गोरखा जाँदै हुनुहुन्छ । उहाँ पनि शालिक अनावरण र शालिकसँगै आजदेखि त्यहाँ खटाइने शार्दुलजंग गणका १५ जना कालो पोशाकधारी गुर्जुका पल्टनका सिपाहीको तैनाथी सम्बन्धी कार्यक्रममा सहभागी हुन लाग्नुभएको हो । 

प्रधानमन्त्रीभन्दा दुई घण्टा ढिलो उड्ने अर्को हेलिकोप्टरमा प्रधान सेनापति शर्मा,उहाँकी धर्मपत्नी सुनिता शर्मा, रक्षा सचिव किरणराज शर्मा रहने बताइएको छ । त्यसैगरी प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह,सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा मुख्य अनुसन्धान निर्देशक हुतराज थापा,सेनाका सहायक रथी विष्णुबहादुर खड्का, सह सेनानीहरु सिद्धार्थ पौडेल र युवराज श्रेष्ठ पनि टोलीमा रहेको बताइन्छ । 

सेनाको एनए ०५८ अगुष्ता हेलिकोप्टरमा चालक दलका सदस्यको रुपमा जर्नेल एस घिमिरे, कर्नेल एस.के. कटुवाल र लेफ्टिनेण्ट कर्नेल बी श्रेष्ठ हुनेछन् ।

टिप्पणीहरू