गण्डकीका मुख्यमन्त्रीलाई आफ्नै कार्यकर्ताको कालोपट्टी

गण्डकीका मुख्यमन्त्रीलाई आफ्नै कार्यकर्ताको कालोपट्टी

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीलाई आफ्नै कार्यकर्ताले कालोपट्टी देखाएका छन् । मुख्यमन्त्रीको शपथ लिएपछि हिजो पहिलो सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रममा अधिकारीलाई एमालेबाट निर्वाचित जनप्रतिनिधिले नै कालोपट्टी देखाएका हुन् । 

पोखरा महानगरको नगरसभामा सहभागी हुन पुगेका अधिकारीलाई एमालेतर्फकै दलित समुदायका जनप्रतिनिधिहरुले कालोपट्टी देखाएपछि नगरसभाभित्र तरंग फैलिएको बताइन्छ । महागरका एकजना वडाध्यक्षले आफ्नै वडा सदस्यलाई जातीय विभेद गरेको आरोप छ । पोखरा २४ का वडाध्यक्ष भरत अधिकारीलाई जातीय विभेदको आरोपमा प्रहरीले पक्राउ गरिसकेको छ । सोही मुद्दालाई लिएर दलित जनप्रतिनिधिहरुले नगरसभामा विरोध गरेका हुन् । 

त्यसैको मारमा मुख्यमन्त्री अधिकारी परेको उनी निकटस्थहरु बताउँछन् । अधिकारीले बोल्ने समयमा दलित समुदायका जनप्रतिनिधिले कालोपट्टी बाँधेर सम्बोधन गरेका हुन् । विरोधस्वरुप उठेका उनीहरुको नेतृत्व गरिरहेका दीपक घिमिरे विश्वकर्मालाई उपमेयर मञ्जुदेवी गुरुङले बोल्न समय दिइन् । उनी सीधै रोष्ट्रममा पुगे र ध्यानाकर्षण पत्र बुझाए । 

एक्कासी विरोध प्रदर्शन गरेपछि सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री अधिकारीले सम्वादबाट समस्या समाधान गर्न सकिने भन्दै विरोधलाई खासै वास्ता गरेनन् । उनले आफु पनि न्यायको पक्षमा रहेको प्रतिक्रिया दिए । 

उद्घाटन समारोहपछि अदालती प्रक्रियामा प्रवेश भइसकेको विषयमा बखेडा झिकेर प्रमुख अतिथिमाथि नै अपमान गरेको भन्दै काँग्रेसका जनप्रतिनिधिहरुले उक्त कार्यको विरोध गरेका छन् । कार्यसूचीमै नभएको विषय झिकेर एमालेले लफडा गरेको भन्दै उनीहरु बहिष्कार गरेर बाहिरिएपछि नगरसभा नै अनिश्चित समयसम्म स्थगित भएको छ ।

काँग्रेस नेता दिवसमान प्रधानाङ्गले कार्यसूचीमा नभएका कुरा निकालेर एमालेका जनप्रतिनिधिले अनुशासनहीन काम गरेको आरोप लगाए । ‘यसको आफ्नै गरिमा र मर्यादा छ । साथीहरुले सबै बिर्सनुभयो,’ उनले भने, ‘घटनाबारे मेयर र उपमेयरले जवाफ दिनुपर्छ । जवाफ नदिँदासम्म हामी बहिष्कार गर्छौं ।’ 

त्यसपछि मेयर धनराज आचार्यले अर्को महिना बस्ने भन्दै सभा स्थगित गरिदिएका थिए ।

टिप्पणीहरू