जसपाका रामसरोज मधेसको मुख्यमन्त्री
मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई केहीबेर अघि मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख मिश्रले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ ।
यसअघि यादवले सत्ता गठबन्धनमा आवद्ध दलका ६३ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख मिश्रसमक्ष दाबी पेश गरेका थिए । १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।
मधेस प्रदेशसभामा कुनै पनि दलको बहुमत छैन । यादवलाई सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदले समर्थन जनाएका छन् ।
सत्ता गठबन्धनको भागबण्डाअनुसार जसपा र जनमत पार्टीले मधेसमा आधा–आधा कार्यकाल नेतृत्व गर्ने सहमति छ । सोही सहमतिका आधारमा यादव मुख्यमन्त्री बनेका हुन् ।
टिप्पणीहरू