करोडौँको भवन सञ्चालन गर्न आलटाल, नगरपालिकालाई लाखौँ नोक्सान
दोलखाको सदरमुकाम चरिकोटस्थित व्यस्त सातदोबाटो चोकमा करोडौं खर्च गरेर निर्माण गरिएको बहुउद्देश्यीय व्यावसायिक भवन बेवारिसे अवस्थामा पुगेको छ । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि भवन सञ्चालनमा नआउँदा भवन निर्माणको औचित्यमाथि प्रश्न चिन्ह ठडिएको छ ।
भीमेश्वर नगरपालिकाले गौरवको योजनाका रुपमा अघि सारेको बहुउद्देश्यीय व्यावसायिक भवन निर्माण सम्पन्न भएको दुई महिना भइसकेको छ । २०७६ असारदेखि निर्माण सुरु भएको भवन ठेकेदार कम्पनीले गत कात्तिकमा नगरपालिकालाई हस्तान्तरण गरेको थियो । तर, अहिलेसम्म पनि नगरपालिकाले भवन सञ्चालन गर्न सकेको छैन ।
करोडौंको लागतमा निर्माण भएको भवन समयमै सञ्चालन गर्न आलटाल गरेको नगरपालिकामाथि आरोप छ । भवन छिट्टै सञ्चालन गर्न सके नगरपालिकाको आन्तरिक आम्दानी वृद्धि हुन्छ । तर, प्रक्रियामा मिलाएर भवन भाडामा लगाउन नगरपालिकाले ढिलासुस्ती गरेको स्थानीय सरोकारवालाहरु बताउँछन् । विभिन्न बहानामा नगरपालिकाले भवन सञ्चालनमा अनिच्छा देखाएको एक स्थानीयले बताए ।
तर, मेयर ईश्वरनारायण मानन्धरले भने भवन भाडामा लगाउन कानूनी प्रक्रिया पूरा गर्नुपर्ने भएका कारण केही ढिलाई भएको बताए । उनका अनुसार बहुद्देश्यीय व्यावसायिक भवन टेन्डरमा दिनका लागि तीन वर्षअघि दर रेट निर्धारण गरिएको र त्यसलाई संशोधन गर्नुपर्ने भएकाले सञ्चालनमा केही ढिलाई भएको हो । अब छिट्टै प्रक्रिया पुर्याएर सञ्चालनमा ल्याइने उनको दावी छ ।
भवन सञ्चालनका लागि नगरपालिकाले पहिलो चरणमा टेण्डर आह्वान गरेको थियो । त्यसमा ८ वटा आशयपत्र पेश भएकोमा ७ वटा कम्पनी छनोटमा परेका थिए । उनीहरुमध्येबाट नगरपालिकाले दोस्रो चरणको आशयपत्र जारी गर्ने तयारी गरेको छ । छिट्टै दोस्रो चरणको आशयपत्र जारी गर्ने तयारी भइरहेको मेयर मानन्धरले जानकारी दिए ।
नगरपालिकाले भवन टेण्डका लागि दररेट निर्धारण समिति पनि बनाएको छ । समितिले अहिले काम गरिरहेको बताइन्छ । भवन कुल १२ करोड ७६ लाख ३२ हजार ७ रुपैयाँमा निर्माण गरिएको हो । भीमेश्वर नगरपालिकाका इञ्जिनियर सुरेश राउतका अनुसार भवन निर्माणका लागि नगर विकास कोषले ८० प्रतिशत अनुदान दिएको थियो भने १० प्रतिशत सरल ऋण उपलब्ध गराएको थियो । यस्तै नेपाल सरकारले ७५ प्रतिशत अनुदान रकम उपलब्ध गराएको उनले जानकारी दिए । बाँकी २५ प्रतिशत रकम नगरपालिकाले व्यहोरेको छ ।
नगरपालिकाले उक्त भवनसँगै जोडेर अन्य तीन वटा अरु भवन पनि निर्माण गरिरहेको छ । भवन निर्माणको चरणमा रहेकाले सातदोबाटो चोकमा अहिले माटो र ढुंगा थुपारिएको छ । जसका कारण व्यस्त सडक कुरुप बनेको स्थानीयको गुनासो छ ।
नगरपालिकाले भने भवन निर्माणका लागि माटो भर्नुुपर्ने भएकाले अन्यत्रबाट माटो र ढुंगा ल्याएर खन्याउँदा सडक अव्यवस्थित बनेको बताएको छ ।
टिप्पणीहरू