बालेनको मुद्दा सुनुवाई नहुँदै अदालत धाउने पालो चिरिबाबुको

बालेनको मुद्दा सुनुवाई नहुँदै अदालत धाउने पालो चिरिबाबुको

स्थानीय निर्वाचनमा उठेर खर्च विवरण समयमै नबुझाउनेहरुबाट लाखौं रूपैयाँ जरिवाना असुल्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा शृंखलाबद्ध मुद्दा पर्न थालेको छ । 

पुस ११ गते काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दर्ता गरेको रिटको सुनुवाई नहुँदै ललितपुर महानगरका मेयर चिरिवाबु मेयरले पनि यस्तै मुद्दा हालेका छन् । यी दुईसहित आयोगको निर्णयविरुद्ध हालसम्म सर्वोच्चमा पाँच वटा रिट दर्ता भएको छ । रोजिना खातुन, प्रमोदकुमार कुशवाह र राजकुमार बजगाईंले छुट्टाछुट्टै रिट दर्ता गरेका छन् । उनीहरुको जोड अन्तरिम आदेशमार्फत आयोगको निर्णय बदर गर्नपर्ने रहेको छ ।

तर,सर्वोच्चले बजगाईंको रिटमा यसअघि नै अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले कात्तिक २२ गते प्रारम्भिक सुनुवाई गर्दै अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको हो । 

अदालतको आदेशमा निर्वाचन आयोग ऐन २०७३ दफा २६ (३) को हवाला दिइएको छ । जसमा भनिएको छ- निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारलाई खर्च विवरण ६ महिनासम्म नबुझाएमा तत्कालै लागू हुनेगरी बढीमा ६ वर्षसम्म कुनै पनि चुनावमा भाग लिन नपाउने वा उम्मेदवार बन्न अयोग्य घोषित गर्न सक्ने व्यवस्था रहेकाले अन्तरिम आदेश दिनु परेन । सोही दफाअन्तर्गत  उपदफा ५ को ब्याख्या गर्दै हरिकृष्ण श्रीमानले जरिवाना नतिर्ने व्यक्ति उम्मेदवार भई विजयी भएमा स्वतः निर्वाचन बदर हुने कानुनी व्यवस्थावारे पनि स्मरण गराउनुभएको छ । 

निर्वाचन आयोगले २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई कानुनबमोजिम खर्च विवरण नबुझाउने उम्मेदवारलाई कम्तिमा डेढ लाखदेखि साढे ७ लाख रुपैयाँसम्म जरिवाना तिराउने निर्णय गरेको थियो । त्यस्तै जरिवाना नतिर्ने उम्मेदवारलाई ६ वर्ष कुनै पनि निर्वाचनमा भाग लिन नपाउनेगरी रोक लगाउने आयोगको निर्णय छ । 

निर्णयमा खर्च विवरण नुबझाउने महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई ७ लाख ५० हजार रुपैयाँका दरले जरिवाना गर्ने उल्लेख छ । त्यस्तै, महानगरपालिकाका वडाध्यक्ष,वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारलाई ३ लाख रुपैयाँ जरिवाना गर्ने आयोगको निर्णय छ ।

आयोगले उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई ५ लाख ५० हजार र वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारलाई २ लाख ५० हजार रुपैयाँका दरले जरिवाना तिराउने निर्णय गरेको थियो ।  त्यसैगरी, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारलाई तीन लाख ५० हजार, वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्यको हकमा डेढ लाख रुपैयाँका दरले जरिवाना लाग्ने आयोगको निर्णय थियो ।  

आयोगको उक्त निर्णयपछि केही उम्मेदवारले जरिवाना रकम बुझाइसकेका छन् । आयोगका अनुसार हालसम्म प्रदेश निर्वाचन कार्यालयको कोषमा जरिवानावापत ६८ लाख रुपैयाँ दाखिला भएको छ भने काठमाडौँस्थित आयोगको कार्यालय र जिल्ला निर्वाचन कार्यालयको कोषमा चार करोड ३५ लाख ६५ हजार रुपैयाँ संकलन भएको छ । 

काठमाडौँका मेयर बालेन्द्रले सर्वोच्चको संवैधानिक इजलासबाट आयोगको निर्णय बदर गर्न माग गर्दै हालेको मुद्दामा आउने आदेशले बाँकी जरिवाना नतिर्ने उम्मेदवारको विषय पनि टुंगो लाग्नेछ ।

टिप्पणीहरू