गोरखाका कृष्ण गण्डकीको सभामुख
नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल गण्डकी प्रदेशको सभामुख बन्ने भएका छन् । तनहुँका सांसद हरि चुमान दलको नेता चुनिएर मन्त्री बनेपछि माओवादीले धिताललाई सभामुखमा अघि सार्न लागेको हो ।
यद्यपी अहिले पनि धिताल मन्त्री बन्ने योजनामा रहेको बताइन्छ । तर, पार्टीभित्र उनलाई सभामुख बन्न दवाव बढेको छ । धितालले पनि पार्टीले गरेको निर्णय मान्ने बताएका छन् । ‘उहाँलाई सभामुख बन्नुस भनेका छौं । अझै मन्त्रीकै पक्षमा हुनुहुन्छ,’ एक सांसदले भने, ‘तर पार्टीले निर्णय गरेपछि स्वीकार गर्छु भन्नुभएको छ ।’ माओवादीका पाका नेता धिताल गोरखा १ (१) बाट निर्वाचित सांसद हुन् ।
सत्ता साझेदार दलहरुबीच केन्द्रीय तहमा भएको सहमतिअनुसार गण्डकीमा एमालेले पाँचै वर्ष मुख्यमन्त्री र माओवादीले पनि पूरै कार्यकाल सभामुख पाउने गरि भागबण्डा भएको छ । त्यसैका आधारमा मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीले सपथ लिइसकेका छन् । माओवादीले दलका नेता चुमानलाई सरकारको नेतृत्व गराएर पठाएको छ ।
सभामुखको निर्वाचन भने माघ २ भित्र सक्नुपर्छ । संविधानमा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख निर्वाचित भैसक्नुपर्ने व्यवस्था छ । १८ पुसमा बसेको पहिलो बैठक हिसाव गर्दा २ माघ कटाउन मिल्दैन । सकेसम्म विदाकै दिन भएपनि बैठक बसेर सभामुख चयन गरिने संसद सचिवालयले जनाएको छ । यद्यपी दलहरुबीच बैठक बस्न बाँकी रहेको बताइएको छ ।
टिप्पणीहरू