अपाङ्ग विद्यार्थीको नाममा आएको छात्रवृत्तिमा हेडमास्टरको रजाँइ

अपाङ्ग विद्यार्थीको नाममा आएको छात्रवृत्तिमा हेडमास्टरको रजाँइ

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-९ स्थित श्री सरस्वती प्राथमिक विद्यालयले अपाङ्गता भएका विद्यार्थीको नाममा आएको रकम हिनामिना गर्ने गरेको पाइएको छ । नक्कली अभिभावक खडा गरेर कीर्ते हस्ताक्षर गरि अपाङ्ग विद्यार्थीलाई आएको रकम विद्यालयले वर्षौँदेखि झ्वाम पार्दै आएको खुलासा भएको हो । 

वर्षौँदेखि अनियमितता भैरहेपनि यसअघि यो विषयमा सबैको मुख बन्द थियो । तर, नयाँ विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकबीच कुरा नमिलेपछि विद्यालयको बदमासी बाहिर आएको हो । प्रधानाध्यापक सरलादेवी आचार्यको मिलोमतोमा छात्रवृत्तिको रकमसमेत हिनामिना हुँदै आएको स्रोतले बताएको छ । 

वि.सं.२०७४ सालमा उक्त विद्यालयमा भर्ना भएका विद्यार्थीले आर्थिक वर्ष २०७६–७७ मा पाउनुपर्ने छात्रवृत्ति अर्कैले बुझेको अभिभावक कमला भण्डारीले बताइन् । आफ्नो दुई वर्षको छोरीले पाउनुपर्ने छात्रवृत्ति कल्पना खत्री नामको नक्कली अभिभावकले बुझेको उनको भनाइ छ । 

छोरीले पाउने रकम अर्कैले लगेको थाहा पाएपछि उनी विद्यालय पुगेकी थिइन् । तर, प्रधानाध्यापक आचार्यले उल्टै हप्कीदप्की गरेको उनले गुनासो गरिन् । आर्थिक बर्ष २०७८/०७९ को छात्रृवत्ति रकम भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौशलकुमार चौधरीको पहलमा पाएको उनको भनाइ छ । गुनासो पोख्दै उनले भनिन्,‘व्यवस्थापन समिति फेरबदल नभएको भए यस वर्षको रकम समेत अर्कैले पाँउथ्यो होला ।’

अभिभावक मात्रै होइन उक्त विद्यालयका शिक्षकहरु समेत प्रधानाध्यापक आचार्यको मनपरीले आजित भइसकेका छन् । सुस्त मनस्थिति कक्षाका शिक्षक विराज सिंहले स्वेच्छाचारिताले विद्यालयको गरिमा घटाएको बताए । 

प्रधानाध्यापक आचार्यले आफूमाथि हातपात तथा दुर्व्यवहार गरेको बताउँदै उनले आफ्नो एक बर्षको तलब रोकिदिएको दुखेसो पोखे । अपाङ्गता कोटामा आएको छात्रृवृत्ति रकम टाठाबाठा अभिभावकबाहेक कसैलाई खबर नगरी नक्कली अभिभावक बनाएर वितरण गर्ने गरेको उनको दाबी छ ।  

स्रोतले दिएको जानकारीअनुसार विद्यालयमा हाल अपाङ्गता भएका ३४ जना विद्यार्थीको नाम दर्ता छ । जसमध्ये २१ जना मात्रै नियमित उपस्थित हुने गरेका छन् । विद्यालयले कक्षा ३ सम्म पढाइसँगै अपाङ्गता कक्षा पनि सञ्चालन गर्दै आएको छ । शारीरिक अवस्था ठिक नभएका हरेक विद्यार्थीले वार्षिक तीन हजार रुपैयाँ पाँउछन् । 

यता, समितिका अध्यक्ष चौधरीसमेत प्रधानाध्यापक आचार्यको मनोमानीले गर्दा अपाङ्गको हक खोजिएको गुनासो गर्छन् । उनले यसलाई जसरी भएपनि नियन्त्रण गर्ने ठोकुवा गरेका छन् । छात्रवृत्ति वितरण रेकर्ड हेर्दा प्रधानाध्यापक आचार्यले अपाङ्गता भएका विद्यार्थी चन्द्राकुमारी कार्की मात्र नभएर गुडिया रैदास, विश्वनाथ वैश्य, ऋषिराज बम रोका र नुरमोहम्मद राईको समेत नक्कली अभिभावक बनाएर छात्रृवत्ति रकम बुझेर लगेको प्रष्ट देखिन्छ । 

रोचक बिषय त के छ भने विद्यालयको दस्तावेजमा नुरमोहम्मद राईको नक्कली अभिभावक बनेर कुनै बेला औंठाछाप लगाएर रकम बुझिएको छ भने कुनै बेला अग्रेंजीमा कीर्ते हस्ताक्षर गरेर रकम निकासा गरिएको छ ।                                       

यद्यपि, विद्यालय प्रधानाध्यापक आचार्यले भने यो कुरालाई नकारेकी छिन् । उनले आफूलाई यसविषयका केही पनि जानकारी नभएको बताइन् । आफूबाट कुनै पनि गल्ती नभएको दाबी गर्दै उनले रकम हिनामिना भएको भए आफू भर्पाइ गर्न तयार रहेको बताएकी छिन् । उनले भनिन्,‘यो सबै मलाई फसाउन रचिएको प्रपञ्च हो ।’ 

उपमहानगरका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले यसबारे कुनै जानकारी नआएको र पीडित अभिभावकले निवेदन दिएमा आवश्यक छानबिन प्रक्रिया अगाडि बढाउने बताए ।

टिप्पणीहरू