एमाले छाडेका भुसाललाई एकीकृत समाजवादीको स्वागत पत्र

एमाले छाडेका भुसाललाई एकीकृत समाजवादीको स्वागत पत्र

नेकपा एमाले छोडेर स्वतन्त्र चुनाव लडेका धनश्याम भुसाललाई नेकपा एकीकृत समाजवादीले स्वागत पत्र पठाएको छ । नेता भुसाललाई पार्टी प्रवेशका लागि हिजो साँझ स्वागत पत्र पठाइएको बताइएको छ । समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले नेता भुसालको सैद्धान्तिक र वैचारिक सवालको सम्बोधन हुने गरी पत्र पठाइएको जानकारी दिए ।

उनले भने, ‘नेता भुसालले उठाएको प्रस्ताव एकीकृत समाजवादीको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिल्दो छन् । त्यसैले पनि हामीले उनलाई हिजो स्वागत पत्र पठाएका हौँ । अबको केही दिनमै भुसाल समाजवादी प्रवेश गर्ने छन् ।’

समाजवादीद्वारा नेता भुसाललाई पठाइएको पत्रमा लेखिएको छ, ‘तपाईँले प्रस्तुत गर्नु भएका प्रस्तावहरु पार्टीले अहिले अँगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिल्दो र सकारात्मक छन् । हामीले २०७७ चैत्र ४–५ मा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रुपान्तरण गर्ने जुन दृढ अठोट गरेका थियौँ, त्यसमा नेकपा (एकीकृत समाजवादी) आज पनि प्रतिबद्ध छ ।पार्टी निर्माणसम्बन्धी तपाईंले राख्नुभएका धारणा उक्त प्रतिबद्धता अनुरुप नै छन् । त्यसैले, तपाईं छिटोभन्दा छिटो नेकपा (एकीकृत समाजवादी) मा आबद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रुपान्तरणको यस महान अभियानमा सरिक हुन हार्दिक अनुरोध छ ।’

टिप्पणीहरू