प्रधानमन्त्री ‘प्रो–नेपाल पोलिसी’ मा दृढ

प्रधानमन्त्री ‘प्रो–नेपाल पोलिसी’ मा दृढ

नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उहाँले प्रधानमन्त्रीलाई भेट्नुभएको हो । 

भेटमा द्विपक्षीय हित तथा पारस्पारिक सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ । सोक्रममा प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकता रहेको बताउँदै विगतमा झैं अन्तर्राष्ट्रिय समुदायको पूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभएको छ । 

प्रधानमन्त्री दाहालले जर्मन सरकारको सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरूले विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याएकोमा खुशी पनि व्यक्त गर्नुभयो । नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको र अन्तर्राष्ट्रिय समुदायसँग समान कूटनीतिक सम्बन्ध रहने बताउँदै प्रधानमन्त्रीले यसलाई आफूले प्रो–नेपाल पोलिसीको नाम दिएको उल्लेख गर्नुभयो ।

राजदूत प्रिन्सले संसदबाट झण्डै शतप्रतिशत विश्वासको मत प्राप्त गरेकोमा प्रधानमन्त्रीलाई बधाई दिँदै नेपालको पूर्वाधार विकास र समृद्धिका क्षेत्रमा जर्मन सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको भेटघाट सम्बद्ध स्रोतले बताएको छ ।

टिप्पणीहरू