रविका माननीयले भने ‘संघीयता कमजोर भए मुलुक पनि कमजोर’
संघीयता विरोधी पार्टीका रुपमा चिनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक जना सांसद संघीयताको पक्षमा उभिएका छन् । सो पार्टीका सांसद मनिष झाले प्रादेशिक सरकार बलियो भए मुलुक बलियो हुने भन्दै त्यसअनुरुपको भूमिका खेल्न मधेसका मुख्यमन्त्रीलाई आग्रह गरेका हुन् ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवलाई बधाई तथा शुभकामना दिने क्रममा उनले संघीयता कमजोर हुने काम नगर्न सचेतसमेत गराएका छन् । आफ्नो पार्टीको नीतिविपरित झाले संघीयता कमजोर हुँदा मुलुक नै कमजोर हुने दाबी गरेका हुन् ।
मुख्यमन्त्रीलाई आठ बुँदे सुझाव लेखेका सांसद झाले सरकार दलका लागि नभई नागरिकका लागि हुनुपर्ने, सक्षम र स्वच्छ व्यक्तिलाई मन्त्री बनाउनुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, ‘मन्त्रालय मन्त्रीले चलाउन्, तिनका सन्तानले होइन ।’
कमजोरको सेवा गर्न, प्राप्त बजेटको सही उपयोग गर्न, प्रदेश सरकारको अघिल्लो सरकारको कार्यकालमा भएको भ्रष्टाचारको यथाशीघ्र निष्पक्ष छानबिन गर्न पनि उनले आग्रह गरेका छन् ।
जनता समाजवादी पार्टीका संसदीय दलका नेता यादव हिजो मुख्यमन्त्री नियुक्त भएका हुन् । तराई–मधेस केन्द्रित दलका रुपमा चिनिने जसपाले आफूलाई संघीयताको मूल प्रवाह शक्ति दाबी गर्ने गरेको छ ।
टिप्पणीहरू