डेढ दर्जन डीआइजीको सरुवा

डेढ दर्जन डीआइजीको सरुवा

नेपाल प्रहरीका १७ जना प्रहरी नायव महानिरीक्षक (डिआईजी) को काज सरुवा भएको छ । आज प्रहरी प्रधान कार्यालयले उनीहरुलाई काजमा खटाउने निर्णय गरेको हो । 

जसअनुसार प्रहरी हेडक्वार्टरमा दरबन्दी रहेका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेशको प्रहरी कार्यालय दाङ सरुवा भएका छन् । त्यस्तै, प्रशासन विभाग तथा आर्थिक प्रशासन महाशाखाका दीपक थापालाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा लगिएको छ । 

मधेश प्रदेश प्रहरी प्रमुख मसाउद आलम खाँलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी ल्याइएको छ भने हेडक्वार्टरमा कार्यरत बसन्तबहादुर कुवँरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् । 

कर्णाली प्रदेशका पोषराज पोखरेल महानिरीक्षकको सचिवालयमा आएका छन् भने भीमप्रसाद ढकाललाई कर्णाली प्रदेश पठाइएको छ । त्यसैगरी अशोक सिंह सुदूरपरिश्चम प्रदेश प्रहरी कार्यालय, धनगढी सरुवा हुँदा वुद्धिराज गुरुङलाई गण्डकी प्रदेश प्रमुख बनाएर पठाइएको छ । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरको नेतृत्व अब श्यामलाल ज्ञवालीले गर्ने छन् । उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत थिए । त्रिभुवन विमानस्थलमा भने किरण राणालाई खटाइएको छ । प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोको जिम्मा सुदिप गिरीले पाएका छन् ।

दुर्गा सिंहलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवन तथा किरण राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय लगिएको छ ।

आज प्रकाशित सरुवा सूचीअनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुल्सीपुर दाङका नलप्रसाद उपाध्यायलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका मोहनकुमार आचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरो लगिएको छ ।

हेडक्वार्टरको विशेष ब्यूरोका अशोक सिंहलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका किरण बज्राचार्यलाई हेडक्वार्टरको प्रशासन विभाग र १ नम्बर प्रदेश प्रहरी कार्यालयका सुदिप गिरीलाई विशेष ब्यूरो नक्सलामा सरुवा गरिएको छ ।

सरुवामा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका रामदत्त जोशीलाई हेडक्वार्टरको अन्वेषण योजना तथा विकास निर्देशनालयमा पठाइएको उल्लेख छ ।

टिप्पणीहरू