निर्मलालाई न्याय माग्दै कलंकीदेखि मण्डलासम्म लाल्टिन जुलुस
बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणको छानबिन र दोषीलाई कारबाहीको माग गर्दै अधिकारकर्मीहरुले आज पनि आन्दोलन गरेका छन् । १५ औं दिनको आन्दोलन कार्यक्रमअन्तर्गत आज काठमाडौँमा लाल्टिन बालेर शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको छ ।
महिला अधिकारकर्मी रुबी खानसहितको टोलीले कलंकीबाट माइतीघर मण्डलासम्म र्याली निकालेको हो । विधवा महिला निर्मलालाई अपहरण, शरीर बन्धक बनाई हत्या गरिएको बताउँदै टोलीले तेस्रो चरणको आन्दोलन गरिरहेको छ ।
यसअघि पनि नेपालगञ्जबाट पैदल यात्रा गरेर काठमाडौं आएको टोलीलाई सरकारले विभिन्न आश्वासन दिएर फिर्ता पठाएको थियो । तर, अहिलेसम्म मुद्दा अदालतसम्म नपुगेकाले आन्दोलनका लागि काठमाडौं आउनुपरेको महिला अधिकारकर्मी खानले बताइन् ।
प्रदर्शनकारीहरुले निर्मलालाई न्याय दिन सरकारसँग जोडदार माग गरेका छन् । साथै, सिआईबीको अनुसन्धान एक वर्ष पूरा भए पनि अधुरै रहेको उनीहरुको आरोप छ ।
उनीहरुले निर्मला हत्याको घटनामा न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने, आयोगमार्फत निर्मलाको तमसुकमा भएको सहीछाप चेक गर्नुपर्ने, मुद्दालाई अदालतसम्म पुर्याउनुपर्ने र महिला आन्दोलनकारीलाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्नेलगायत माग राखेका छन् ।
टिप्पणीहरू