घनश्याम भोलिदेखि एकीकृत समाजवादीमा औपचारिक प्रवेश गर्ने
एमाले छाडेर माओवादीको कोटामा स्वतन्त्र चुनाव लडेका वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।
भोलि बानेश्वरको अर्याल होटलमा पत्रकार सम्मेलन गरेर भुसाल समाजवादीमा समाहित हुन् लागेका हुन् । भुसालसँगै उनीनिकट केही एमाले नेता–कार्यकर्तालाई पनि समाजवादीमा प्रवेश गराउने तयारी भइरहेको बताइएको छ ।
निर्वाचनको मुखैमा एमाले छाडेका भुसाल माओवादीको कोटामा त्यतिबेलाको पाँचदलीय गठबन्धनबाट चुनाव लडे पनि कुनै पनि पार्टीमा आवद्ध भएका थिएनन् ।
एमालेबाट विद्रोह गरी माधवले एकीकृत समाजवादी गठन गर्दा १० बुँदे सहमति गरेर एमालेमै बसेका उनी बृहत वाम एकताको पक्षमा थिए । सोही कारण माओवादी केन्द्र र समाजवादीका नेताहरुले आफ्नो पार्टीमा प्रवेशका लागि गरेको आग्रह उनले अस्वीकार गर्दै आएका थिए ।
चुनावपछि स्वतन्त्र भएका भुसाललाई आफ्नो पार्टीमा भित्र्याउन समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरुले पुनः प्रयास थालेका थिए ।
यसअघि भुसालले केही वैचारिक–राजनीतिक विषय मिलाउनुपर्ने भन्दै समाजवादीमा लिखित प्रस्ताव दिएका थिए । समाजवादीले त्यसको सकारात्मक जवाफ दिएको छ ।
बुझिएअनुसार महासचिवको जिम्मेवारी दिने तयारीका साथ समाजवादीले भुसाललाई तत्काल सचिवालय सदस्यमा मनोनित गर्नेछ । यसअघि आजै बिहान नेपाल निवास कोटेश्वरमा अध्यक्ष नेपालसँग नेता भुसाल र एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाबीच भण्डै एक घण्टा कुराकानी भएको थियो ।
टिप्पणीहरू