१२ वर्षपछि दादुरा फैलियो, पूर्ण खोपको सरकारी दाबी झुठो
१२ वर्षअघि नै पूर्ण खोप जिल्ला घोषणा भएको बाँकेमा दादुराको प्रकोप बढेको छ । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकालगायत क्षेत्रमा दादुरा फैलिएको छ ।
गत पुस १२ गतेदेखि उपमहानगरमा एकाएक दादुराको संक्रमण देखिएको स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले बताए । हालसम्म दादुराबाट संक्रमित भएका बालबालिकाको संख्या ११३ पुगेको छ ।
पाँचदेखि १५ वर्ष उमेर समूहका बालबालिका सबैभन्दा धेरै संक्रमित भएको उनको भनाइ छ । ‘२०७६ सालमा बाँकेलाई पूर्ण खोप लगाइएको जिल्ला भनेर घोषणा गरिएको थियो । त्यतिखेर पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइसकेका थियौं’, चन्दले भने,‘त्यसअघिका बालबालिकामासमेत दादुरा देखिएको छ ।’
खोप नलगाउनु नै दादुरा निम्तिनुको प्रमुख कारण भएको उनको ठम्याइ छ । दादुराका कारण एक जनाको मृत्यु भइसकेको छ । हाल अवस्था सामान्य बन्दै गएको उनले बताए । यस्तै, दादुरा नियन्त्रणका लागि धमाधम खोप लगाउने कार्य भइरहेको उपमहानगरले बताएको छ । ११ वडाका १२ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
तीमध्ये सात हजार १७३ जनालाई खोप लगाइसकिएको छ । उपमहानगरले सात वटा वडाको १३ वटा खोप केन्द्रबाट खोप वितरण गरिरहेको छ । त्यसैगरी स्वास्थ्यकर्मी खटाएर जनचेतना फैलाउने काम पनि गरिरहेको छ ।
टिप्पणीहरू