मेयर र उपमेयरको लडाईंले नगरपालिकामा लफडा, कर्मचारीले ढोका लगाए

मेयर र उपमेयरको लडाईंले नगरपालिकामा लफडा, कर्मचारीले ढोका लगाए

धनुषाको नगराइन नगरपालिकामा तलब नपाएको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् । गत साउनदेखि तलबभत्ता नपाएपछि नगरपालिकामा स्वास्थ्य र विद्यालयका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

तालाबन्दीका कारण नगरपालिकाको सेवा एक महिनाभन्दा बढी समयदेखि ठप्प छ । त्यस्तै, वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालयमा पनि झण्डै एक महिनादेखि ताला लगाइएको छ । 

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट पारित नभएकाले तलब खान नपाएपछि नगरपालिकाका सबै कर्मचारीहरु आन्दोलनमा उत्रिएको हुन् । नगरपालिकाका मेयर तथा उपमेयरबीचमा योजनाको सञ्चालन तथा अनुगमनसहितको विषयमा नीतिगत विवाद भएकाले बजेट कार्यक्रम पास हुन नसकेको बताइन्छ । 

आन्दोलनका कारण नगरपालिकामा ४४ दिनदेखि सबै प्रकारका नियमित खोप सेवासमेत बन्द भएका छन् । जन्मदेखि १५ महिनासम्मका बालबालिकाहरुलाई दिइने विभिन्न प्रकारको नियमित खोप सेवा बन्द भएपछि गम्भीर समस्या निम्तिएको प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले बताए ।  

‘नियमित खोप कार्यक्रम प्रभावित भएकाले बालबालिकामा प्राणघातक रोगको जटिलता आउने खतरा देखिएको छ, खोपको महत्त्व बुझ्नेले त विभिन्न पालिकामा गएर खोप लगाइरहेका छन् तर प्रायःले लगाएका छैनन्’, उनले भने । पटक–पटक समस्या समाधान गर्न खोज्दा पनि मेयर र उपमेयरबीचको विवादले नगरसभा बस्न नसक्दा खोपजस्तो संवेदनशील विषय बन्द भएको उनको गुनासो छ ।

टिप्पणीहरू