प्रभु साहले माओवादी समाजवादीसँग एकता गर्ने

प्रभु साहले माओवादी समाजवादीसँग एकता गर्ने

पूर्वएमाले नेता प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने भएको छ । आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको माओवादी समाजवादीबीच एकता हुन लागेको हो ।

एकताका लागि आम जनता पार्टीबाट बद्री न्यौपाने र उमेश कुशवाह तथा माओवादी समाजवादीबाट तिलक थापामगर र रगनाथ ढकाल रहेको समिति गठन गरिएको छ ।

एकतापछि नयाँ पार्टीको नाम भने आम जनता पार्टी नै रहने सो पार्टीका प्रचार–प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए । उनका अनुसार अग्रगामी शक्तिहरुको ध्रुवीकरणको रुपमा विभिन्न राजनीतिक दलहरुसँग एकताको अभियानअन्तर्गत माओवादी समाजवादीसँग एकता गर्न लागेको हो ।

भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिँदै रौतहट–३ बाट निर्वाचित भएका साहले केही समयअघि आफ्नै नेतृत्वमा पार्टी गठन गरेका हुन् । 

उनको पार्टीमा जनता समाजवादी पार्टी (जसपा) का रौतहट जिल्ला सचिव लखिन्द्र यादव, नेपाल संघीय समाजवादी पार्टीबाट रौतहट १ (ख) मा प्रदेश सांसदका उम्मेदवार जाजुल देवानलगायत सयौँको संख्यामा विभिन्न पार्टीका कार्यकर्ता प्रवेश गरेका थिए । पूर्वसहरी विकास राज्यमन्त्री एवम् काठमाडौ ७ बाट संविधानसभा सदस्य र प्रतिनिधि सदस्य रहिसकेका रामवीर मानन्धर पनि प्रभुको पार्टीमा आवद्ध भएका थिए ।

टिप्पणीहरू