जिल्लाको आदेश उच्च्द्वारा बदर, सन्दीप लामिछाने थुनामुक्त

जिल्लाको आदेश उच्च्द्वारा बदर, सन्दीप लामिछाने थुनामुक्त

बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालतले बदर गरेको छ । उच्चका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा जिल्ला अदालतको आदेश बदर गरिदिएको हो । यो आदेशसँगै थुनामा बसेर पुर्पक्ष गरिरहेका लामिछाने अब घर जाने भएका छन् । 

यसअघि लामिछानेले जिल्ला अदालतको आदेशविरुद्ध उच्चमा पुनरावेदन गरेका थिए । वेरितको आदेश बदर माग गर्दै उनको तर्फबाट रिहाइको लागि गरिएको पुनरावेदनमाथिको सुनुवाई पटक-पटक स्थगित भएको थियो ।  

गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो । यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित भनिएकी किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।

पुस १२ गते मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको छ ।

लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ । तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्।  उमेरसम्बन्धी विवाद भएपछि इजलासले उनको जन्मसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो ।

क्रिकेट खेल्न विदेशमा रहेका बेला बलात्कारको आरोप लागेका लामिछाने असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।

टिप्पणीहरू