रामेछापमा पुरुषको शव फेला, आफन्तहरु आक्रोशित
रामेछापको लिखु तामाकोसी गाउँपालिकाको केन्द्र धोबीमा पुरुषको शव फेला परेको छ । शव इलाका प्रहरी चौकीबाट अन्दाजी एक किलोमीटरको दूरीमा रहेको धोबीडाँडा बस्ने अन्दाजी ४५ वर्षीय गणेश नेपालीको रहेको बताइएको छ ।
नेपालीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । शवको पहिचान आफन्तजनले पनि गरिसकेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालका अनुसार शव पोष्टमार्टका लागि सदरमुकामस्थित मन्थली अस्पतालमा ल्याइएको छ ।
नेपाली आफ्नो घरदेखि सात सय मीटर पर सडक छेउमा अर्धनग्न र उत्तानो अवस्थामा मृत भेटिएका हुन् । उनको शरीरमा केही घिसारेको जस्तो दाग देखिएको बताइन्छ । तर प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।
मृतकका आफन्तले उनको हत्या गरिएको जिकिर गर्दै प्रहरीमा जाहेरी दिन खोजेका छन् । प्रहरीले जाहेरीमा लेखिएका केही शब्द र सच्चाउन आग्रह गरेको बताएको छ । प्रवक्ता ढकालका अनुसार ‘शब्दहरू केही आपत्तिजनक भएकाले सच्चाउन भनिएको हो । त्यसपछि निवदेन दर्ता हुन्छ ।’
स्रोतका अनुसार उनी मादक पदार्थ सेवन गरेर हिँड्ने गर्दथे । स्थानीय एक जनासँग भएको भनाभनमा नेपालीलाई झापड हानिएको आफन्तको आरोप छ । अहिले ती झापड हानेको भनिएका व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
टिप्पणीहरू