गृह मन्त्रालयका कारण काम गर्न अप्ठेरो परेको भन्दै ठेकेदारहरुको हारगुहार
नेपाल निर्माण व्यवसायी महासंघले नदी तथा खानीजन्य निर्माण सामग्रीको उत्खननमा समस्या भएकाले आयोजनाहरु समयमा सम्पन्न गर्न नसकिने बताएको छ ।
निर्माण सामग्रीहरु उत्खनन, ओसारपसारलगायतका काममा पछिल्लो समय देखिएको व्यवधानले तोकिएको समयमा निर्माण सम्पन्न गर्न समस्या परेको महासंघको दावी छ । ढुंगा, गिट्टी, वालुवा, माटोलगायतका निर्माण सामग्रीहरु उत्खननमा देखापर्ने समस्याले निर्माण उद्योग आक्रान्त भएको बताउँदै महासंघले समस्या समाधान गरिदिन आग्रहसमेत गरेको छ ।
विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयबाट गत पुस २० मा जारी भएको निर्देशनबाट निर्माण उद्योगमा गम्भीर असर परेको महासंघको गुनासो छ । विज्ञप्तिमा भनिएको छ,‘विभिन्न शक्ति केन्द्रहरुको आडमा कृत्रिम अभाव सिर्जना गरी कार्टेलिङलाई प्रश्रय दिँदा कालोबजारी तथा मूल्यवृद्धि हुने गर्दछ ।’
त्यस्तै, महासंघले आफ्ना सदस्यलाई उत्खनन क्षेत्र राज्यले तोक्नुपर्ने, मूल्य निर्धारण गरिनुपर्नेलगायतका विषयहरु समेटेर चाँडोभन्दा चाँडो पत्राचार गर्न भनेको छ ।
टिप्पणीहरू