पूर्वमा माओवादीका ‘ज्वाईं’ ले बाजी मारे
लामो विवाद र रस्साकस्सीबीच प्रदेश १ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाईं जीवन आचार्य मन्त्री बनेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज माओवादी केन्द्रका दुई र नेकपा एमालेका एकजना मन्त्री थपेर क्याबिनेट बिस्तार गर्दा मोरङका आचार्य पनि परेका हुन् ।
आचार्यसँगै माओवादी केन्द्रबाट तेह्रथुमका दुर्गा चापागाईँ र एमालेबाट सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी पनि मन्त्री नियुक्त भएका छन् । पार्टीमा लामो योगदान गरेका इमान्दारहरुलाई रोकेर अध्यक्षका नातेदारलाई मन्त्री बनाउन चलखेल भएको भन्दै यसअघि माओवादीमा चर्को विवाद थियो ।
आधा दर्जनबढी नेता मन्त्रीको आकांक्षी देखिएपछि माओवादीले विगतमा आफूले अभ्यास गरेको लिम्बुवान,किराँत र कोचिलाबाट प्रतिनिधित्व नछुट्ने गरी मन्त्री छान्ने मापदण्ड बनाएको थियो । तर, मोरङकै पुराना नेता गणेश उप्रेतीसमेत मन्त्रीको दाबेदार हुँदा आचार्यलाई छान्न प्रदेश कमिटीलाई सकस परेको थियो ।
एउटै प्रदेश र जिल्ला अनि दुबै खस–आर्य समुदायको भएकाले दुईमध्ये एक जना मात्र छानिने मापदण्डअनुसार आचार्य मन्त्री बनेका हुन् । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका उनी प्रचण्डकी कान्छी छोरी गंगाका श्रीमान हुन् ।
अध्यक्षको ज्वाईंकै कारण जनयुद्धका पुराना नेता गणेश उप्रेती मन्त्रीबाट वञ्चित भएपछि प्रचण्डमाथि लाग्दै आएको परिवारवादको आरोप थप चर्किने देखिएको छ ।
टिप्पणीहरू