सिराहाका क्रसर उद्योगमा सिडिओ कार्यालयको ताल्चा

सिराहाका क्रसर उद्योगमा सिडिओ कार्यालयको ताल्चा

मापदण्डविपरीत सञ्चालित सिराहाका क्रसर उद्योगहरुमा ताला लगाइएको छ । जिल्ला प्रशासन कार्यालय, सिराहाले ती उद्योगहरु बन्द गरेको जनाइएको छ । 

पुस २० गते गृह मन्त्रालयले दर्ता नगरिएका र अनुमति नलिइएका नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन् गर्ने उद्योग तत्काल बन्द गर्न निर्देशन दिएपछि प्रशासनले जिल्लाका २३ क्रसर उद्योग बन्द गराएको हो । प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले मन्त्रालयको परिपत्रको पालना गर्दै नियमविपरीत अवैध रुपमा सञ्चालित क्रसर उद्योगमा ताल्चा लगाइएको जानकारी दिए ।

उनका अनुसार जिल्लाका २३ क्रसर उद्योगमध्ये सात वटाको अझै नवीकरणको समय बाँकी छ । यसअघि ती उद्योग पनि सञ्चालनमा थिए । तर, अहिले मापदण्डविपरीत सञ्चालन हुँदै आएका र नवीकरणको समय बाँकी रहेका सबै क्रसर उद्योगहरु एक हप्ताका लागि बन्द गराउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कवारीले बताए । 

साथै, एक हप्ताका लागि ती क्रसर उद्योगहरुलाई नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन, संकलन र बिक्री वितरणमा रोक लगाइएको छ ।

टिप्पणीहरू