मोरङका अधिकांश क्रसर उद्योगमा जनप्रतिनिधिको लगानी, बन्द गर्न सरकारी निर्देशन

मोरङका अधिकांश क्रसर उद्योगमा जनप्रतिनिधिको लगानी, बन्द गर्न सरकारी निर्देशन

मोरङमा सञ्चालित सबैजसो क्रसर उद्योगहरु मापदण्ड विपरित चलाइएको पाइएपछि सरकारले बन्द गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयको निर्देशनमा स्थानीय प्रशासनले क्रसर उद्योग बन्द गराएको छ ।

२१ वटा क्रसर उद्योग सञ्चालनमा रहेकामा सबैले आवश्यक प्रक्रिया पूरा नगरेको पाइएपछि अर्को निर्णय नभएसम्मका लागि बन्द गर्न निर्देशन दिइएको अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका अध्यक्ष हरिप्रसाद भट्टराईले बताए । भट्टराई नेतृत्वको समितिले पुस २४ देखि २७ गतेसम्म चार दिन लगाएर अनुगमन गरेको थियो ।

जिल्लाको बेलबारी, सुन्दरहरैंचा, उर्लाबारी, केराबारी, ग्रामथान र मिक्लाजुङमा २१ वटा क्रसर उद्योग सञ्चालनमा छन् । जिल्ला प्रसाशन कार्यालय मोरङ, जिल्ला समन्वय समिति, स्थानीय सरकारका प्रतिनिधि प्रहरी प्रशासनलगायतको संयुक्त टोलीले जिल्लामा सञ्चालित उद्योगहरुको अनुगमन गरेको थियो । अनुगमन टोलीले मापदण्ड मिचेर सञ्चालन गरिएका ती सबै क्रसरलाई कारवाही गर्न उपयुक्त रहेको निष्कर्ष निकालेको संयोजक भट्टराईले जानकारी दिए ।

केराबारी–८ मा रहेको जयमाता दि सम्राट क्रसरले नवीकरण तथा आवश्यक प्रक्रिया पूरा नगरी सञ्चालन गरेको अनुगमन टोलीको ठहर छ । सो क्रसरले खरिद बिक्री अद्यावधिक नभएको, स्टक प्रमाणित नगरेको, अवैधरुपमा खानी सञ्चालन गरेको अनुगमनका क्रममा भेटिएको बताइएको छ । जयमाता दि सम्राट क्रसमा पूर्वसांसद चन्द्र गुरुङलगायतको लगानी छ ।

केराबारी–८ मा रहेको अर्को कृष्ण क्रसिङ प्रालिलाई पनि तत्काल बन्द गर्न समितिले निर्देशन दिएको छ । यो क्रसर सोही गाउँपालिकाका अध्यक्षको स्वामित्वमा रहेको खुलेको छ । खदम खोलाको डिलमा रहेको महादेव मिनरल इण्डष्ट्रिज, क्रसर उद्योगले पनि मापदण्ड मिचेको अनुगमन समितिले जनाएको छ । उक्त उद्योगमा सोही वडाका वडाध्यक्ष मनोजकुमार खड्काको लगानी रहेको बताइएको छ भने खड्का र स्थानीय कमलकुमार बस्नेतको संयुक्त नाममा दर्ता रहेको बताइन्छ । यसमा गाउँपालिकाका निवर्तमान अध्यक्ष कार्कीको समेत लगानी रहेको अनुगमनमा संलग्न कर्मचारीहरुले बताएका छन् । 

यता, उर्लाबारी–१ मा रहेको पञ्चेश्वर क्रसर उद्योगलाई २० हजार जरिवानासहित बन्द गर्न अनुगमन समितिले निर्देशन दिएको छ । अनुगमन टोलीलाई दर्ता नवीकरण समेत देखाउन नसकेपछि बन्द गर्न आदेश दिइएको टोलीका एक सदस्यले बताए । ग्रामथान गाउँपालिकामा रहेको विराट क्रंकिट उद्योग प्रालि पनि अवैध ठहरिएको छ । उक्त, उद्योग नवीकरण नगरी सञ्चालन गरेको पाइएकाले बन्द गर्न सिफारिस गरिएको अनुगमन समितिले जनाएको छ ।

अर्को केराबारी गाउँपालिका ८ मा सञ्चालित शिवम एग्रिगेट इन्डष्ट्रिज क्रसर उद्योगलाई तत्काल बन्द गर्न समितिले सिफारिस गरेको छ । यो उद्योग पनि दर्ता नवीकरण नगरी सञ्चालन गरिएको पाइएको हो । काँग्रेसको मोरङ क्षेत्र नम्बर ६ का सभापति देवु तामाङ यस उद्योगका सञ्चालक हुन् । त्यस्तै, लेटाङ नगरपालिकाको ओम श्री क्रसर उद्योग एण्ड सप्लायर्स घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता नगरी सञ्चालन भएको सबैभन्दा ठूलो उद्योग रहेको खुलेको छ । उक्त उद्योग चारकोशे झाडीभित्रै सञ्चालनमा छ ।

बेलबारी नगरपालिकाको एनएआई एग्रिगेट इन्डस्ट्रिज, केराबारी गाउँपालिकामा सञ्चालनमा रहेको कृष्ण क्रसिङ इन्डष्ट्रिज, गोविन्दप्रसाद भट्टराईको नाममा दर्ता भई मिक्लाजुङ नगरपालिकामा सञ्चालनमा रहेको पूर्वेली क्रसर उद्योग कानुनी प्रक्रियाविपरीत सञ्चालनमा रहेको अनुगमन समितिका संयोजक भट्टराइले बताए ।

सुन्दरहरैंचा नगरपालिकामा रहेको शंकर रोडा उद्योग, पशुपति स्टोन क्रसिङ, सिद्धकाली रोडा ढुंगा, इस्टर्न एग्रिगेट एण्ड स्टोन मिल, जयश्री तिरुपति क्रसर उद्योग, बेलबारीको माधव एग्रिगेट एन्ड स्टोन र पथरी शनिश्चरेको जय श्री तिरुपति क्रसर उद्योग मापदण्ड विपरित सञ्चालनमा रहेको अनुगमन समितिले जनाएको छ । ती सबैलाई तत्काल बन्द गर्न निर्देशन दिइएको समितिका संयोजक भट्टराईले जानकारी दिए ।

टिप्पणीहरू