सात वर्षपछि महाधिवेशनको तयारीमा एमाले अखिल

सात वर्षपछि महाधिवेशनको तयारीमा एमाले अखिल

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु महाधिवेशनको तयारीमा जुटेको छ । आगामी फागुन २–४ गते काठमाडौंमा अनेरास्ववियुले २३ औँ महाधिवेशन गर्ने भएको छ । 

यही पुस २३ र २७ गते काठमाडौँमा सम्पन्न बैठकले महाधिवेशन गर्ने निर्णय गरेअनुसार तयारीमा जुटेको अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियुले संगठनको आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउन महाधिवेशन गर्न लागेको बताइएको छ । 

अनेरास्ववियुको महाधिवेशन सात वर्षदेखि हुन सकेको छैन । गत असोज १ र २ गते काठमाडौँमा सम्पन्न तेस्रो नीति तथा विधान महाधिवेशनले ६ महिनाभित्र महाधिवेशन गर्न म्याण्डेट दिएको थियो । सोहीअनुसार चैत्र ५ गते हुने स्ववियु निर्वाचनअघि नै महाधिवेशन गर्न लागेको हो । 

बैठकले अवधि पूरा भई सम्मेलन/अधिवेशन नभएका मातहतका कमिटीहरुलाई पनि माघ १५ गतेभित्र गरिसक्न निर्देशन दिएको छ । माघ १५ गतेभन्दा पछाडि तोेकिएका मातहत कमिटीका भेला/अधिवेशनहरु राष्ट्रिय महाधिवेशनसम्म स्थगित गर्ने अनेरास्ववियुको निर्णय छ । 

महाधिवेशनका लागि संगठनकी अध्यक्ष सुनिता बरालको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव समिक बडालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति र कोषाध्यक्ष जेनिश लामाको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । त्यस्तै, अन्य उपसमितिबारे मूल व्यवस्थापन समितिको बैठक बसी निर्माण गरिने अनेरास्ववियुले जनाएको छ ।
 

टिप्पणीहरू