सुदूरपश्चिममा सभामुखको ‘लफडा’, सूचना टाँसेर बैठक स्थगित
सभामुख चयनका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक सञ्चालन हुन नसकेपछि अन्ततः सूचना टाँसेर स्थगित गरिएको छ ।
सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र नेपाली काँग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । हिजो मत विभाजन हुँदा दुबैले आवश्यक मत ल्याउन नसकेपछि आज पुनः बैठक बोलाइएको थियो ।
पहिलो चरणमा भण्डारीले २७ मत पाए पनि एक मत बदर हुँदा पुनः मत विभाजन गरिएको थियो । तर, दोस्रोपटक पनि पक्षमा बहुमत अर्थात २७ मत नआउँदा उनी सभामुख हुन पाएनन् । काँग्रेसका रावलले भने दुबै पटक २३ मत पाएका थिए ।
५३ जना प्रदेश सभासदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ । सो संख्या अपुग हुँदा सभामुख चयन हुन नसकेको हो ।
सत्ता गठबन्धनका दुइ ठूला दल एमाले र माओवादीबीच सुदूरपश्चिममा मुख्यमन्त्री र सभामुख भागबण्डा गरिएको छ । आधा–आधा कार्यकाल मुख्यमन्त्री लिने दुई दलको सहमति छ । जसअनुसार पहिलो कार्यकालमा एमालेका गजेन्द्र रावल मुख्यमन्त्री चयन भइसकेका छन् । सभामुख माओवादीको भागमा परेको छ भने उपसभामुख नागरिक उन्मुक्ति पार्टीलाई दिने सहमति छ ।
टिप्पणीहरू