बागलुङको नीति तथा कार्यक्रम पुसमा पेश

बागलुङको नीति तथा कार्यक्रम पुसमा पेश -राजेशचन्द्र राजभण्डारी

बागलुङ नगरपालिकाको १२ औं नगरसभा सम्पन्न भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बागलुङ नगरपालिकाभित्र रहेको बलेवा एयरपोर्टलाई यथाशक्य छिटो सञ्चालन गर्ने विषय नयाँ नीति तथा कार्यक्रममा समेटिएको छ । 

नगर सभामा मेयर बसन्त श्रेष्ठले चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पेश गरेका हुन् । नगरपालिकाले नगरको विकास योजना समयमै सम्पन्न गर्न १४ वटा वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको जानकारी गराइएको छ ।

नगरपालिकाले ९३ वटा योजना सम्झौता गरेको छ भने निःशुल्क स्वास्थ सेवा ८६९ जनालाई, अपांग परिचयपत्र १६७ जनालाई, टोल विकास संस्था दर्ता ११ वटा भइसकेको जानकारी पनि दिइएको छ ।

सुन्दर र समृद्ध बागलुङ नगर निर्माण गर्न नगरपालिकाले बागलुङ प्रवेशद्वारमा रहेको मालढुङ्गा पुललाई आकर्षक बनाएने तयारी गरिरहेको छ । नगर क्षेत्रभित्र सडक कालोपत्रे गर्ने र सौर्य बत्ति जडान गर्ने तयारी भइरहेको पनि नगर प्रमुख श्रेष्ठले बताए ।

मुख्य बजार क्षेत्रमा भूमिगत ढलसहित प्रशोधन केन्द्र निर्माण योजना कार्यान्वयनको निम्ति खानेपानी तथा ढल व्यवस्थापन विभागमा आवश्यक सहजीकरण भइरहेको पनि नगर सभामा जानकारी गराइएको छ ।

नगरसभाले आगामी २०८० असार मसान्तसम्म नगर पालिकामा बुझाउनुपर्ने व्यवसाय कर, सम्पत्ति कर, फोहोर मैला शुल्क तिर्न बाँकी रहेका रकम बुझाएमा हालसम्मको सबै जरिवाना छुट दिने निर्णय गरिएको छ । बागलुङ बजारभित्र जथाभावी रूपमा चलाइएको ठेलागाडामा जनताको स्वास्थ्यमा असर पार्ने अखाद्य पदार्थको बिक्री वितरण हुँदै आएको व्यवसायको पनि उचित व्यवस्थापन गरिने मेयरले बताए ।

नगर उपप्रमुख राजु खड्काले सभामा संशोधन बजेट पेश गरेका थिए । सोही बजेटलाई नगर सभामा छलफल गरेर सर्वसम्मत रूपमा पारित गरिएको हो । त्यसैगरी विधेयक समितिका संयोजक शनि केसी, सार्वजनिक लेखा समितिका संयोजक अर्जुन घिमिरे, सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास समितिका संयोजक कुमार विक्रम क्षेत्रीले आआफ्ना कार्यक्रम र कार्ययोजना सभामा पेश गरेका थिए ।

टिप्पणीहरू