सन्दीपको मुद्दाको पेसी माघ ९ गतेलाई तोकियो

सन्दीपको मुद्दाको पेसी माघ ९ गतेलाई तोकियो

उच्च अदालत पाटनको आदेशमा थुनामुक्त भएका नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दाको पेसी माघ ९ गतेका लागि तोकिएको छ । मुद्दाको अन्तिम छिनोफानो अघि बढाउन जिल्ला अदालत काठमाडौंले ९ माघका लागि पेसी राखेको हो ।

त्यसदिन मुद्दाको सुनुवाइ अघि बढे यो प्रकरणको अन्तिम टुंगो लाग्ने बताइएको छ । 

जिल्ला अदालत काठमाडौँको आदेशले केन्द्रीय कारागारमा बसेर मुद्दाको पुर्पक्ष गरिरहेका लामिछानेलाई हिजोमात्रै उच्च अदालतले शर्तसहित रिहा गर्न आदेश दिएको थियो । न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज भट्टराईको संयुक्त इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै २० लाख धरौटीमा छाड्न आदेश गरेको हो ।

सोही आदेशअनुसार लामिछाने केन्द्रीय कारागरबाट आज दिउँसो रिहा भइसकेका छन् । 

लामिछानेमाथि उमेर नपुगेकी एक किशोरी बलात्कार गरेको आरोप छ । विदेशमा क्रिकेट खेलिरहेका बेला आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि खेल छाडेर बीचैमा नेपाल फर्किएका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत असोज २० गते पक्राउ परेका थिए ।

टिप्पणीहरू