यातायात 'रित्याएर' भूमिमा पुगेका पोखरेल भ्रष्टाचारमा डामिए

यातायात 'रित्याएर' भूमिमा पुगेका पोखरेल भ्रष्टाचारमा डामिए

यातायात व्यवस्था कार्यालय,सुकेधाराका निमित्त कार्यालय प्रमुख गणेशप्रसाद पोखरेलमाथि गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा परेको छ । अख्तियारले पोखरेलविरुद्ध विशेष अदालतमा मुद्धा हालेको हो । 

१ असार २०४३ मा सेवा प्रवेश गरेका उनीविरुद्ध उजुरी परेपछि अख्तियारले १५ फागुन २०७८ सम्मको सम्पत्ति जाँचबुझ गरेको थियो । पोखरेलले ४ करोड ३७ लाख ८८ हजार ४०२ रुपैँया बराबरको सम्पत्ति जोडेको र जसमध्ये ३ करोड ३१ लाख ५५ हजार ६२ रुपैँयामात्रै कानूनी रुपमा आर्जन गरेको अख्तियारको दावी छ । 

अख्तियारले विशेषमा दर्ता गरेको अभियोगपत्रमा बाँकी स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग पनि गरेको छ । साथै, पोखरेलकी श्रीमती बिमला न्यौपाने पोखरेललाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ ।

यातायात कार्यालयका शाखा अधिकृत पोखरेलले पारिश्रमिकबाहेक घरबहाल, बीमा, रेमिट्यान्स, मोटरसाइकल बिक्री, शेयरलगायतबाट सम्पत्ति जोडेको बताउँदै आएका थिए । उनको दाबीलाई स्वीकार गरेर हेर्दा पनि त्यसबाहेक आर्जनको स्रोत नखुलेको अख्तियारको भनाई छ । 

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चावहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख उनी हाल राष्ट्रिय भूमि आयोग, ताहाचलमा कार्यरत छन् । पोखरेल शाखा अधिकृतस्तरका कर्मचारी हुन् ।

टिप्पणीहरू