जनक शिक्षाले कागजको गुणस्तर छानबिन गर्ने

जनक शिक्षाले कागजको गुणस्तर छानबिन गर्ने

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कागजको गुणस्तरबारे छानबिन गर्ने भएको छ । आपूर्तिकर्ताले गुणस्तरहीन कागज ल्याएको गुनासो बढेपछि जनक शिक्षाले छानबिन गर्ने निर्णय गरेको हो । 

गत पुस २७ गते आफैँले फिर्ता पठाएको कागज पुनः ल्याएको भनेर विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि आलोचनामा परेको केन्द्रमाथि छानबिन अघि बढाउनुपर्ने दबाब थियो । त्यसैले कागजको गुणस्तर छानबिन गरी दोषी ठहरिएमा आपूर्तिकर्तालाई कारबाही गर्ने पनि केन्द्रले चेतावनीसमेत दिएको छ ।  

कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई निःशुल्क वितरण गरिने पुस्तक छाप्न आपूर्तिकर्ताले ल्याएको कागजसहित ट्रक बरामद भनेर हिजो थुप्रै सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए । जनक शिक्षाले भने ती सञ्चारमाध्यमहरुबाट प्रकाशित समाचार कपोकल्पित र भ्रामक भएको उल्लेख गर्दै गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

त्यस्तै, बोलपत्रमार्फत प्राप्त हुने कागज नेपाल गुणस्तर तथा नापतौल विभाग, बालाजुमा परीक्षण गरिने र तोकिएको गुणस्तर भएमा मात्र प्रयोग गर्ने गरेको केन्द्रको दाबी छ ।
 

टिप्पणीहरू