माघे संक्रान्तिमा नारायणगढ–मुग्लिन सडक खुल्ला हुने

माघे संक्रान्तिमा नारायणगढ–मुग्लिन सडक खुल्ला हुने

भोलि र पर्सि नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी आवागमन सुचारु हुने भएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको उक्त सडक खण्डमा माघे संक्रान्तिका लागि सवारी नरोकिने बताइएको छ ।

माघे संक्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । 

उक्त सडक खण्डमा पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो ।

अहिले निर्माणाधीन पाँच पुलमध्ये तीन वटाको भित्तो काट्ने काम सकिएको छ । सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको छ । चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू