सुटुक्क बालुवाटार छिर्ने विनोद चौधरी चप्पल कारखानातिर

सुटुक्क बालुवाटार छिर्ने विनोद चौधरी चप्पल कारखानातिर

डलर अर्बपति तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरी पछिल्लो पटक पुस ५ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छिरेका थिए । सँसदीय दलको नेताम देउवालाई जिताउने चलखेलका निम्ति उनी त्यो दिन राति साढे ८ बजेदेखि झण्डै साढे १० बजेसम्म तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा,गृहमन्त्री बालकृष्ण खाँण, उपसभापति पूर्णबहादुर खड्कालगायतसँगको छलफलमा व्यस्त भएका थिए ।

भोलिपल्ट बिहान हुने काँग्रेस संसदीय दलको नेता चयनको आर्थिक र राजनीतिक रणनीति तय गर्न चौधरीलाई बालुवाटारमा बोलाइएको त्यतिबेलै चर्चा भएको थियो । आवश्यकताअनुसारको ‘थैली’ तयार पार्ने वचन दिएर उनी त्यहाँबाट सोझै रवि भवनस्थित निवास फर्केको बताइन्छ ।

त्यसपछि प्रधानमन्त्रीसँग भेट नभएका उनी पुस १० गते दिउँसो विकसित राजनीतिक घटनाक्रमपछि सबैभन्दा धेरै राजनीतिक मुच्र्छामा परेका सांसद बनेका छन् । देउवा नेतृत्वमा बन्ने नयाँ सरकारमा आकर्षक मन्त्रालयको जिम्मा पाउने पक्का भएर बसेका उनलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन भएपछि निकै ठूलो ‘तोड’ परेको हो । 

उनी र उनका विभिन्न कम्पनीविरुद्ध सम्पत्ति शुद्धिकरण र राजश्व तथा करसँग जोडिएका झण्डै आधा दर्जन मुद्दा सम्पत्ति शुद्धिकरण विभागमा विचाराधीन छ । राजनीतिक आडमा थप अनुसन्धान र प्रक्रिया रोकिएका ती मुद्दा पुनः सतहमा आउने सम्भावना बढेपछि उनले हिजो राति काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री देउवासँग डेढ घण्टा लामो बातचित गरेको स्रोतको दाबी छ । 

बिचौलिया दीपक भट्टको अस्वाभाविक रकमको कारोबार, बैंकिङ फ्रड र करोडौं रकम अपचलनको घटना बाहिर निस्कन थालेपछि चौधरी पनि राजनीतिक शक्ति केन्द्रको थप आड भरोसा खोज्दै हिजो साँझ देउवा निवास चप्पल कारखाना पुगेका हुन् । उनले देउवासँग हिजो बेलुकी ७ बजेदेखि साढे ८ बजेसम्म गोप्य कुराकानी गरेका हुन् । गत आमनिर्वाचन अघि चौधरीका कान्छा छोरा वरुण र भट्टले विश्वका तेस्रो नम्बरका भारतीय धनाढ्य गौतम अडानीका सिईओलाई काठमाडौंमा बोलाएर मनोवैज्ञानिक रुपमा विश्वका धनाढ्यहरुसँग आफ्नो प्रभाव रहेको देखाएका थिए ।

टिप्पणीहरू