अध्यक्षका ज्वाईंलाई मन्त्री बनाएकामा जनयुद्धमा अभिभावक गुमाएकाहरु असन्तुष्ट

अध्यक्षका ज्वाईंलाई मन्त्री बनाएकामा जनयुद्धमा अभिभावक गुमाएकाहरु असन्तुष्ट

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाईंलाई प्रदेश १ को मन्त्री बनाएकोमा माओवादी जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका सन्तानहरुले असन्तुष्टी जनाएका छन् । लामो समय पार्टीमा योगदान गरेकाहरुलाई पाखा लगाएर अध्यक्षका आफन्तलाई मन्त्री बनाइनु जनभावना विपरितको कदम भन्दै सहिद तथा बेपत्ता योद्धा सन्तती फाउन्डेसनले आपत्ति जनाएको छ । 

माओवादीका थुप्रै पुराना र अवसरबाट बन्चितहरुलाई पन्छाउँदै प्रचण्डकी कान्छी छोरी गंगा दाहालका श्रीमान जीवन आचार्य हिजो प्रदेश १ को मन्त्री नियुक्त भएका हुन् । पार्टीको उक्त निर्णयलाई लिएर माओवादी पंक्ति र आमरुपमा पनि बिरोध भइरहेका बेला जनयुद्धमा आमाबाबु गुमाएकाहरुलेसमेत मुख खोलेका छन् । 

फाउन्डेसनले आज विज्ञप्ति जारी गर्दै आचार्यलाई मन्त्री नियुक्त गरेर नेतृत्वले पद र शक्तिको लागि निर्लज्ज निर्णय गर्ने विकृत अभ्यासलाई बढावा दिएको बताएको छ । तर्क र बहस गरेरमात्रै पार्टीमा शुद्धिकरण सम्भव नहुने बताउँदै विज्ञप्तिमा त्यसका लागि व्यावहारिक परिवर्तन हुनुपर्नेमा जोड दिइएको छ । साथै यसको सम्पूर्ण जिम्मेवारी अध्यक्ष प्रचण्डले लिनुपर्ने पनि उल्लेख छ । 

‘यो माओवादी संस्कृति हैन । औपचारिक तर्क गरेर यसको दोष अरु कसैलाई दिन सकिएला तर यसो गर्नु सर्वथा गलत हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘औपचारिकता र अमूर्तताको बहसले शुद्धिकरण र रुपान्तरण सम्भव छैन । व्यवहारतः यसको सम्पूर्ण जिम्मेवारी कमरेड प्रचण्डलाई जान्छ र उहाँले नै लिनुपर्छ ।’ 

हजारौँ सपूतको बलिदानीको जगमा अहिलेको परिवर्तन सम्भव भएको स्मरण गराउँदै फाउन्डेसनले लोभी आँखाबाट त्यागी इतिहासको रक्षा नहुने पनि प्रष्ट्याएको छ । ‘इतिहास बदल्न बलिदान दिने सपूतहरुको सन्तान हुनुको नाताले यो फाउन्डेसन र यसका सदस्यहरुले आवश्यक पर्दा इतिहासको रक्षार्थ बगेको रगत जस्तै प्रष्ट देखिने र छुइने भाषामा बोल्नुपर्छ । यस्तै हुने हो भने हामीले भन्नै पर्छ– लोभी आँखाहरुबाट त्यागी इतिहासको रक्षा हुन सक्दैन’, विज्ञप्तिमा भनिएको छ । 

फाउन्डेसनले तत्काल निर्णय सच्याउन पनि अध्यक्ष प्रचण्डलाई आग्रह गरेको छ । माओको कोटेसन स्मरण गराउँदै विज्ञप्तिमा लेखिएको छ, ‘पार्टी अध्यक्ष प्रचण्डले बारम्बार भन्नुहुन्थ्यो – पार्टी निर्माण र शुद्धिकरण अहिलेको आवश्यकता हो । यस सम्बन्धमा हामी कमरेड प्रचण्डलाई माओको कुरा स्मरण गराउन चाहन्छौँ । माओ भन्नुहुन्थ्यो –जहाँसम्म पार्टी निर्माणको प्रश्न छ, त्यो सिँढी जस्तै छ । यदि सिँढी बनाउने हो भने पहिले पिँधलाई प्राथमिकता दिएर क्रमशः थाल्नुपर्छ । तर, सिँढी सफा गर्न सबैभन्दा माथिबाट थाल्नुपर्छ ।’

टिप्पणीहरू