प्रधानमन्त्रीद्वारा एकै पटक तीन थरि संकेत

प्रधानमन्त्रीद्वारा एकै पटक तीन थरि संकेत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो बालुवाटारमा सम्पादकहरुलाई तीन वटा विषय जानकारी गराउनुभएको छ । उहाँले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा व्यक्त गर्नुभएको धारणाले राजनीतिक वृत्तमा फेरि अर्को हलचल ल्याएको छ ।

प्रधानमन्त्रीले सम्पादकहरुसँगको छलफलमा सभामुखको निर्वाचनअघि पर्सि सर्वदलीय बैठक बोलाउन लागिएको जानकारी दिनुभयो । सभामुखको निर्वाचन माघ ५ गते बिहीबार तोकिएको छ । पुस १० गते एमालेसँग भएको सहमतिमा उहाँले प्रधानमन्त्री आफूले लिने र राष्ट्रपति तथा सभामुख एमालेलाई दिने भनिएको थियो । तर, नेपाली काँग्रेसले गत साता उहाँलाई विश्वासको मत दिएपछि उत्पन्न नयाँ खालको तरंगसँगै काँग्रेसले सभामुखमा आँखा लगाएको खबर बाहिरिएको छ ।

सोही सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहालसँग गत बुधबारदेखि हिजोसम्म तीन पटक गरेर ६ घण्टाभन्दा बढी समय कुराकानी गर्नुभएको बताइन्छ । उहाँले पर्सि बोलाउन लाग्नुभएको सर्वदलीय बैठकलाई एमालेले निकै सतर्कताकासाथ हेरिरहेको छ ।

हिजै उहाँले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने जानकारी गराउनुभएको छ । हालको सन्दर्भमा उहाँले भारतको औपचारिक भ्रमण छिट्टै गर्ने जानकारी दिइनुलाई पनि एमालेले भित्रभित्रै विकसित भइरहेको राजनीतिक घटनाक्रमसँग जोडेर हेर्न बाध्य भएको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीले सम्पादकहरुसँगको कुराकानीमा राष्ट्रपति, सभामुखलगायतका पदको निर्वाचनका विषयमा त्यसभन्दा अघि नेपाली काँग्रेससँग पनि छलफल हुने बताएपछि एमाले नेतृत्व सशंकित भएको हो । हिजो बिहान ती विषयमा स्पष्ट हुन एमाले अध्यक्ष ओली बालुवाटार गए पनि अपरान्ह सम्पादकहरुसँगको भेटमा बालुवाटारमै प्रधानमन्त्रीले स्पष्टसँग आफ्नो धारणा राखेपछि गठबन्धनको मुख्य दल एमाले ‘पर्ख र हेर’ को रणनीतिमा जान बाध्य भएको बताइन्छ ।

टिप्पणीहरू