सत्ताबाट हटेपछि पहिलोपटक आरजू म्याडम दिल्ली प्रस्थान

सत्ताबाट हटेपछि पहिलोपटक आरजू म्याडम दिल्ली प्रस्थान

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन् । दिउँसो नेपाल एअरलाइन्स आरए २१७ नम्बरको उडानबाट उनी दिल्ली गएकी हुन् । 

कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभामा समानुपातिक सांसदसमेत रहेकी आरजु दिउँसो २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गरेको बताइएको छ । 

काँग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेपकारी मानिने आरजुको पछिल्लो पटक शेरबहादुर प्रधानमन्त्री हुँदाका बेलादेखि दिल्ली आउजाउ बढेको थियो । भारतीय संस्थापनसँग सम्बन्ध सुधारका लागि देउवाले पत्नीमार्फत भाजपाका विभिन्न नेतासँग संवाद शुरु गरेको त्यतिबेलै चर्चा थियो । 

भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलाई जनैपूर्णिमाका दिन बालुवाटारमा बोलाएर राखी बाँधिदिएपछि सम्बन्ध सुधारको सुरुआत भएको र त्यसैको निरन्तरताका रुपमा अहिले आरजुको दिल्ली आउजाउ हुने गरेको कांग्रेसकै कतिपय नेताले बताउने गरेका छन् । 

चुनावअघि आरजु स्वास्थ्य उपचारका लागि दिल्ली पुगेकी थिइन् । त्यतिबेलै दिल्लीस्थित नेपाली दूतावासमा वर्तमान प्रधानमन्त्री प्रचण्डसँग भएको उनको भेटघाटले निकै चर्चा पाएको थियो । 

अहिले दुई ठूला कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेकोमा कांग्रेसभन्दा भारत बढी चिन्तित रहेको भारतीय कूटनीतिज्ञहरुका सार्वजनिक अभिव्यक्तिहरुबाट प्रष्ट बुझिन्छ । यतिबेलै भाजपाको विश्वास आर्जन गरेको भनिएकी आरजुको दिल्ली भ्रमणलाई नेपालको राजनीतिमा चासोका साथ हेरिएको छ । 

तर,उनीनिकट नेताहरुले भने विगतमा पाठेघरसम्बन्धी उपचार गरेकोमा त्यसैको फलोअप गर्न गएको बताएका छन् ।

टिप्पणीहरू