भागबण्डाबारे कुरा गर्न प्रधानमन्त्री फेरि ओली निवासमा

भागबण्डाबारे कुरा गर्न प्रधानमन्त्री फेरि ओली निवासमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ । चिनियाँ राजदूतसङ्गको भेटवार्तालगत्तै ओलीलाई भेट्न आज बिहान दश बज्नासाथ प्रधानमन्त्री प्रचण्ड बालकोट पुग्नुभएको हो । 

भेटमा दुवै तहका सरकारलाई पूर्णता दिने र त्यसका लागि मन्त्रालय भागबण्डा मिलाउने विषयमा दुई नेताबीच कुराकानी भएको बताइएको छ । त्यस्तै, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायत मुख्य पद बाँडफाँडका विषयमा पनि छलफल भएको बुझिएको छ ।

प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएको एक महिना बित्न लाग्दा पनि क्याबिनेट विस्तार हुन सकेको छैन । यसअघि प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सरकारले पूर्णता पाउने भनिएको थियो । तर, मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएपछि राष्ट्रपति र सभामुखमध्ये एक पद उसलाई दिन प्रधानमन्त्री सकारात्मक भएको चर्चासँगै सत्ता गठबन्धनको प्रमुख दल एमालेका नेताहरु सशंकित भएका छन् । 

प्रधानमन्त्री र माओवादी नेताहरु शक्ति बाँडफाँटमा कांग्रेसलाई पनि साथमा लिन तयार भएको आशयका अभिव्यक्ति कांग्रेस पंक्तिबाट आउन थालेपछि एमाले अध्यक्षले तारन्तार प्रचण्डलाई भेटिरहनु भएको छ ।

 

टिप्पणीहरू