शव ल्याउन काठमाडौंबाट पोखरा गए थुप्रै शववाहन

शव ल्याउन काठमाडौंबाट पोखरा गए थुप्रै शववाहन

हिजो बिहान पोखरामा भएको यति एयरलाइन्सको एटिआर विमान दुर्घटनामा निधन भएकाहरुको शव लिनका लागि काठमाडौं उपत्यकाबाट एम्बुलेन्स तथा शववाहन पठाइएको छ । आज बिहानसम्म फेला पारिएकामध्ये पहिचान हुन नसकेका,विदेशी नागरिक र पोखरा क्षेत्रभन्दा बाहिरका यात्रुको शव काठमाडौं ल्याउनका लागि एम्बुलेन्स तथा शववाहन पोखरा गएका हुन् । 

उपत्यकाभित्रका विभिन्न ठाँउबाट आठ वटा गाडी पोखरा गएको बताइएको छ । शंखरापुरबाट एक, ललितपुरबाट १, नागार्जुनबाट एक, चाँगुनारायणबाट एक, सूर्यविनायकबाट एक, भक्तपुरबाट एक एम्बुलेन्स घटनास्थलमा गएका छन् । त्यस्तै, सशस्त्र प्रहरी बलका दुई वटा एम्बुलेन्स शव ल्याउनका लागि खटिएको छ ।

यता, काठमाडौंबाट दुई जना फरेन्सिक चिकित्सकको टोली पोखरा पठाउने तयारी भइरहेको छ । चार जना चालक दलका सदस्यसहित विमानमा सवार ७२ जनामध्ये हालसम्म भेटिएका सबै ६९ जना मृत घोषित भइसकेका छन् ।

 

टिप्पणीहरू