सुदूरपश्चिम अझै लम्बियो सभामुखको सकस

सुदूरपश्चिम अझै लम्बियो सभामुखको सकस

सभामुख चयनका लागि आज बिहान ९ बजे बोलाइएको सुदूरपश्चिम प्रदेशसभा बैठक रोकिएको छ । पोखरामा हिजो भएको विमान दुर्घटनाको शोकमा सरकारले राष्ट्रिय राष्ट्रिय बिदा दिने निर्णय गरेपछि पूर्वनिर्धारित प्रदेशसभा बैठक स्थगित गरिएको हो । 

प्रदेशसभा सचिवालयले सूचना निकालेर सभामुख निर्वाचनको कार्यसूची रहेको आजको बैठक स्थगित भएको जानकारी दिएको छ । अब भोलि बिहान १० बजे बस्ने गरी बैठक आह्वान गरिएको पनि सचिवालयले बताएको छ ।

सुदूरपश्चिममा यसअघि पनि सभामुख चयनका लागि बोलाइएको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । गत पुस २९ गते बिहान ११ बजेका लागि तय भएको बैठक सञ्चालन हुन नसकेपछि अन्ततः सूचना टाँसेर स्थगित गरिएको हो ।

सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र नेपाली काँग्रेसका मानबहादुर रावल उम्मेदवार रहेकोमा मत विभाजन हुँदा दुवैले आवश्यक मत ल्याउन नसकेपछि पुनः बैठक बोलाइएको थियो । पहिलो चरणमा भण्डारीले २७ मत पाए पनि एक मत बदर हुँदा पुनः मत विभाजन गरिएको थियो । तर, दोस्रो पटक पनि पक्षमा बहुमत अर्थात् २७ मत नआउँदा उनी सभामुख हुन पाएनन् । त्यस्तै, काँग्रेसका रावलले भने दुवै पटक २३ मत पाएका थिए । 

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ । सत्ता गठबन्धनमा रहेको उन्मुक्ति पार्टीका सांसदहरुले मत नदिएका कारण सभामुख चयन हुन नसकेको बताइएको छ ।

टिप्पणीहरू