गोरु जुधाई हेर्न गएका सांसदले भने-स्थानीयको योजना सफल बनाउँछु

गोरु जुधाई हेर्न गएका सांसदले भने-स्थानीयको योजना सफल बनाउँछु

नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा साँसद हितबहादुर तामाङले विकासका धेरै काम स्थानीय र प्रदेश सरकारले गर्ने भए पनि त्यससम्बन्धी योजना सफल बनाउन आफूले सघाउने प्रतिबद्धता जनाएका छन् । धादिङको निलकण्ठ नगरपालिका फ्याक्सेमा भएको गोरु जुधाइ कार्यक्रममा पुगेका उनले स्थानीय योजनालाई सफल बनाउन सक्दो पहल गर्ने बताएका हुन् । 

‘हिजो संघीय सरकारले गर्ने गरेका ठूला ठूला योजना पनि अहिले प्रदेश र स्थानीय तहमा पठाइने गरेको छ’ उनले भने, ‘एक अर्ब १५ करोड बराबरको फक्सेटार धादिङबेसी सडक बनाउन संघीय सरकारले सम्बोधन गर्नुपर्छ भन्ने स्थानीयको मागलाई सम्बन्धित मन्त्री र सरकारसमक्ष लैजान पहल गर्ने प्रतिबद्धता जनाउछु ।'

पूर्वमन्त्रीसमेत रहेका सांसद तामाङले चुनावका बेला भएको सहकार्य तोडिनुमा काँग्रेस नै मुख्य जिम्मेवार रहेको पनि बताएका छन् । चुनावअघि भएको सहमतिअनुसार काँग्रेसले सरकार गठन गर्न नमानेपछि एमालेसँग मिलेर सरकार बनाउनुपरेको उनले प्रष्ट  पारे ।

 ‘हिजो काँग्रेससँग गठबन्धन गरेर चुनावमा भोट माग्न र जिताएर पठाउनुस् भन्यौँ तर जितेर गइसकेपछि सरकार बनाउनेक्रममा काँग्रेसले चुनावअघिको सम्झौता नमान्ने खेल खेलेपछि एमालेसँग गठबन्धन गरेर सरकार बनायौँ', तामाङले भने । 

संसदमा सबै दलले विश्वासको मत दिएर सरकार गठन भएकाले केन्द्रअनुसारको सहकार्य स्थानीयस्तरसम्म कायम राखेर विकासका योजनालाई सरकारसमक्ष ल्याउन स्थानीयलाई उनले आग्रहसमेत गरेका छन् ।

धादिङको फ्याक्सेमा ८ वर्षदेखि हरेक वर्ष माघे संक्रान्तिका दिन गोरु जुँधाइ महोत्सव हुँदै आएको छ । यसवर्ष भएको महोत्सवमा ९ हल गोरु जुधाइएको थियो । कार्यक्रममा प्रदेश सांसद गोविन्द लम्साल, मनराज भण्डारी,  निलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्मा लगायतले बोलेका थिए ।

 

टिप्पणीहरू