तत्काललाई टर्यो भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण

तत्काललाई टर्यो भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण

पुस १० गते अप्रत्यासित रुपमा प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएपछि झस्किएको भारतीय संस्थापन पक्ष केही दिनसम्म किंकर्तव्यमुढझैँ भएको थियो । काँग्रेस सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई कुनै हालतमा प्रधानमन्त्री र राष्ट्रपति छाड्न नहुने अडानमा राखेको दक्षिणले एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि नयाँ खेल शुरु गरेको बताइन्छ । 

यसको छनक स्वयम् नेपाली काँग्रेसले प्रधानमन्त्रीलाई विनाशर्त समर्थन गर्नुले पनि दिन्छ । प्रधानमन्त्री गुमे पनि आगामी सभामुख र राष्ट्रपति आफ्नो भागमा पार्न दक्षिणको योजनामा काँग्रेसले गत साता विश्वासको मत प्रदान गरेको स्वयम् काँग्रेसीजनको भनाइ छ ।

‘राष्ट्रपति फुत्काउन भारतीय प्रयास जारी छ । सके अहिलेको सत्ता समीकरण पल्टाउने र नसके पनि कम्तिमा राष्ट्रपतिमा हात माथि पार्न अनेक खेल शुरु भएको छ,’ माओवादी केन्द्रका एक जना पदाधिकारीले बताए । वर्तमान सत्ता गठबन्धनको जोडजाड कायम राख्न अग्रसर ती पदाधिकारीले भने,‘कुनै हालतमा राष्ट्रपति फुत्काउनुपर्ने निश्कर्षमा काँग्रेस र मित्रराष्ट्र पुगेका छन् । ’

काठमाडौंस्थित भारतीय दूतावास,भारतीय खुफिया एजेन्सी ‘र’ का पदाधिकारीहरु उक्त पहलमा निरन्तर जुटेका छन् । तर सोजेजस्तो परिणामको लागि कुनै संकेत नदेखिएपछि गत साता भारतीय विदेशमन्त्री एस. जयशंकरको नेपाल भ्रमणको सम्भावना देखिएको थियो । यो साताभित्र जसरी पनि काठमाडौं आएर कुरो मिलाउने योजनामा रहेका जयशंकरको भ्रमण यता परराष्ट्रमन्त्री नियुक्त नभएकाले रोकिएको बताइन्छ । ‘प्रोटोकल नमिल्ने भएकाले भ्रमण हुनसक्ने सम्भावना छैन । किनभने अहिले परराष्ट्र मन्त्रालयको जिम्मेवारी स्वयम् प्रधानमन्त्रीसँग छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

आगामी बिहीबार हुने सभामुखको निर्वाचनमा एमाले विजयी हुनेमा माओवादीभित्रका दुबै धार सहमत देखिन्छन् । तर राष्ट्रपति काँग्रेसलाई दिएको अवस्थामा प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष ओलीले हावाकावा खेलाउनसक्ने आकलन पेरिसडाँडाका कमरेडहरुले गरेका छन् । 

माओवादीका एकथरीले भने राष्ट्रपति काँग्रेसले लैजान नसक्ने दाबी गरेका छन् । उनीहरु यही समीकरणबाट राष्ट्रपति चुनिने बताउँछन् । तर उपमहासचिव तथा विवादास्पद छविका निवर्तमान अर्थमन्त्री जनार्दन शर्माहरु भने समीकरण उल्टाउन अझै पनि हात धोएर लागेकाले ढुक्क हुन नसक्ने अवस्था देखिएको बताइन्छ । ‘त्यसो गरेमा प्रचण्डले राजनीति नगरे हुन्छ,’ अहिले सत्ता समीकरण बनाउन लागिपरेका माओवादी नेताहरुको भनाइ हो यो । 

पछिल्लो राजनीतिक अवस्थालाई लिएर काँग्रेसमा फेरि उत्साह पलाएको देखिन्छ । उनीहरु दक्षिणले राष्ट्रपतिको चुनावसम्म पासा पल्टाइदिने विश्वासमा रहेकाले पनि काँग्रेसीहरुमा बेग्लै उत्साह देखिएको हो । दक्षिणले आफूहरुलाई त्यति गुन लगाइदिने विश्वासमा अहिले देउवा, शेखर,गगन सबै समूह ढुक्कझैँ छन् ।

टिप्पणीहरू