वर्षमानलाई गृहमन्त्री नबनाउन ‘अन्यत्र’ को दबाब !

वर्षमानलाई गृहमन्त्री नबनाउन ‘अन्यत्र’ को दबाब !

वर्तमान सत्ता समीकरण बनाउन माओवादी केन्द्रको तर्फबाट सबैभन्दा बढी खटिएकामध्ये महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन मुख्य हुन् । चीनमा उपचारतरत पुन समीकरणकै निम्ति उपचार छोट्याएर स्वदेश फर्केका थिए । 

तर, पुस ११ गते गठित मन्त्रिमण्डलमा तीन जना उपप्रधानमन्त्री बनाइएपछि पुनलाई एकाएक कर्नरमा पारियो । त्यसमा पनि नागरिकता र पासपोर्ट विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कुनै हालतमा उपप्रधानसहित गृह मन्त्रालय चाहिने अवस्था उत्पन्न भएको कारण देखाउँदै पुनलाई पन्छाइएको थियो । हुुन तः एमालेबाट पनि पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटासमेत गृहको आकांक्षी थिए ।

‘सर्सती हेर्दा प्रोटोकोल नमिलेको र गृह लामिछानेलाई दिने निर्णय गरेपछि पुनले नै मन्त्री हुँदिन भन्नुभएको हो,’ त्यतिबेलाको राजनीतिक छलफलमा जुटेका एक जना माओवादी नेताले भने । आफूभन्दा कनिष्ठलाई उपप्रधानमन्त्री बनाइएपछि उहाँले मन्त्रालय खाने अवस्था स्वतः बन्द भएको थियो । 

माओवादीभित्र कसै कसैले पुनलाई अरु मन्त्रालयको जिम्मेवारी दिइए पनि गृह कुनै हालतमा नदिन ‘अन्यत्र’ बाट समेत दबाब आएको बताएका छन् । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनलाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारीमा आफूसँगै बस्नेगरी मन्त्री बन्न आग्रह गर्नुभएको स्रोतको दाबी छ । प्रधानमन्त्रीले आफूसँगै बस्नेगरी मन्त्री बन्न गरेको आग्रह पनि नमानेपछि पुनका शुभचिन्तक र समर्थकहरुले त्यतिबेलै ‘ठीक’ निर्णय भनेका थिए ।
 

टिप्पणीहरू