एमालेले कार्यकर्तालाई कूटनीति सिकाउने

एमालेले कार्यकर्तालाई कूटनीति सिकाउने

नेकपा एमालेको परराष्ट्र मामिला विभागले पार्टीका नेता-कार्यकर्ताको निम्ति  कूटनीतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । कूटनीतिक क्षेत्रका विविध विषयमा कार्यकर्तालाई पोख्त बनाउन एमालेले यस्तो तालिम दिन लागेको हो । 

अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यमा माघ ६ र ७ गते बूढानीलकण्ठस्थित पार्क भिलेज होटलमा आयोजना गरिने दुई दिने तालिममा नेपालको विदेश नीति,अन्तर्राष्ट्रिय सम्बन्ध र व्यवहारका बारेमा प्रशिक्षण दिइने सो विभागले जनाएको छ । साथै, नेपालले गर्दै आएको कूटनीतिक अभ्यास,विधि,व्यवस्था र व्यवहारलगायतका विषय पनि तालिमका दौरान एमाले कार्यकर्तालाई सिकाइने छ । 

तालिममा पार्टीका पदाधिकारीहरु,परराष्ट्र मामिला विभागका सबै सदस्यहरू, जनसंगठनमध्ये विदेश सम्बन्ध राख्ने र विदेश विभाग गठन गरी त्यस अनुरूप गतिविधि गर्दै आएका जनसंगठनका अध्यक्ष,महासचिव र विदेश विभागका प्रमुखहरूको सहभागिता रहने बताइएको छ । 

वार्षिक कार्ययोजनाबमोजिम समय-समयमा समसामयिक अन्तर्राष्ट्रिय राजनीतिक बिषयमा छलफल चलाउँदै आएको विभागले गत साता १२ वटा जनसंगठनसँग विदेश मामिलाका विषय केन्द्रित छलफल गरेको थियो ।

टिप्पणीहरू