त्यति लामो समय के छलफल भयो होला ओली र प्रचण्डवीच ?

त्यति लामो समय के छलफल भयो होला ओली र प्रचण्डवीच ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज घन्टौं लामो गोप्य कुराकानी भएको छ । ओली निवास बालकोटमा सँगै खाना खाएर उहाँहरुले लगातार साढे चार घण्टा छलफल गर्नुभएको हो । 

ओली भेट्न बिहान १० बजे बालकोट पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड दिउँसो साढे २ बजेतिर बाहिरिनुभएको थियो । दुवै तहका सरकारलाई तत्काल पूर्णता दिने र राष्ट्रपति, सभामुखलगायतका पदहरुको भागबण्डा मिलाउने तयारीमा रहनुभएका सत्ता गठबन्धनका दुई शीर्ष नेताहरु केही दिनयता तारन्तार भेटघाटमा हुनुहुन्छ । त्यसैको निरन्तरतामा आज पनि भेटघाट भएको बताइएको छ । 

आजको भेटमा आपसी विश्वाससाथ गठबन्धन कायम राख्दै मुख्य पद भागबण्डा गर्ने सहमति भएको जानकार स्रोतले बताएको छ । काँग्रेसलाई पनि सहमतिमा लिएर राष्ट्रपति र सभामुख चयन गर्ने  प्रधानमन्त्री प्रचण्डको सार्वजनिक अभिव्यक्तिप्रति ओली सशंकित भएको र त्यसले गठबन्धनमा दरार आउने देखिएपछि दुई नेताको भेटघाट बाक्लिएको विभिन्न स्रोतहरुले बताउने गरेका छन् ।  

हुन पनि प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएको एक महिना बित्न लाग्दा पनि क्याबिनेट विस्तार हुन सकेको छैन । यसअघि प्रधानमन्त्रीले विश्वासको मत लिएपछि तत्कालै सरकारले पूर्णता पाउने भनिएको थियो । तर,मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएपछि एमाले सशंकित देखिन्छ । पुस २६ को प्रतिनिधिसभा बैठकमै ओलीले त्यस्तो आशंका व्यक्त गर्नुभएको थियो ।

टिप्पणीहरू