भारत भ्रमणको तयारी शुरु भयो भित्र भित्रै

भारत भ्रमणको तयारी शुरु भयो भित्र भित्रै

नेपालमा हरेक पटक नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै पहिलो विदेश भ्रमणबारे बहस हुने गर्छ । प्रधानमन्त्रीले आफ्नो पहिलो भ्रमण दक्षिणी छिमेकी भारतबाट गर्दै आएको अभ्यास छ । यसलाई भारतले आफ्नो प्रतिष्ठाको विषय बनाउने गर्छ । त्यसैले यसचोटी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहिलो औपचारिक विदेश भ्रमण कहाँ होला ? उहाँले प्रधानमन्त्रीले पहिले भारत भ्रमण गर्ने परम्परा तोड्नु होला या निरन्तरता दिनुहोला ? राजनीतिक तथा कूटनीतिक वृत्तमा बहस शुरु भएको छ । 

२०६५ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले पुरानो अभ्यास तोडेर पहिले चीन भ्रमण रोज्नुभएको थियो । जनयुध्दको रापताप र क्रान्तिको नेतृत्व गरेर आएको शक्तिशाली नेता भएकाले त्यतिबेला 'निरन्तरतामा क्रमभंगता' गर्ने आँट जुटाएपनि दोस्रो पटक प्रधानमन्त्री हुँदा भने उहाँको भ्रमण भारतबाटै शुरु भयो । ०६५ पछि प्रधानमन्त्री बनेका झलनाथ खनाल बाहेक सबै प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतबाटै गर्दै आएका छन् । 

नेपालमा आफ्नो प्रभाव बलियो देखाउन भारत नेपालका प्रधानमन्त्रीलाई पहिलो भ्रमण गराएर छुट्टै भूराजनीतिक सन्देश दिन चाहन्छ । 'दुई देशको सम्बन्धलाई 'रोटीबेटी' को भाष्य बनाएर नेपालको भूराजनीतिक सन्तुलनमा हावी हुन चाहने भारत यसपटक पनि प्रधानमन्त्री प्रचण्डको पहिलो भ्रमण भारतबाटै गराउन सक्रिय भैसकेको चर्चा छ । तथापि प्रचण्ड प्रधानमन्त्री बनेको झण्डै एक महिना पुग्न थाल्दा पनि औपचारिक रुपमा निम्तो दिएको भने सुनिएको छैन । 

त्यसो त, पहिलो पटक प्रधानमन्त्री हुँदा पहिले चीन जानुभएका प्रचण्डले उताबाट फर्कँदा विमानस्थलमै 'पहिलो औपचारिक भ्रमण भारतबाटै गर्ने' बताएर पुरानो अभ्यास नतोडेको सन्देश दिनुभएको थियो । यसपटक पनि उहाँले त्यस्तै संकेत गर्नुभएको छ । प्रधानमन्त्रीको शपथ खाएलगत्तै भारतीय मिडियालाई अन्तर्वार्ता दिने क्रममा उहाँले आफ्नो पहिलो भ्रमण भारत नै हुनसक्ने सम्भावना औंल्याएकाले त्यस्तो संकेत मिलेको हो । 

यो पृष्ठभूमिमा प्रधानमन्त्रीको भारत भ्रमणको भित्री तयारी शुरु भैरहेको जानकार स्रोतले बताएको छ । पहिले आन्तरिकरुपमा भ्रमणको चाँजोपाँजो मिलाइसकेपछि औपचारिक निम्तो दिने गरी भारतीय राजदूत नवीन श्रीवास्तव विभिन्न छलफल र भेटघाटमा सक्रिय भएर लागेको विभिन्न स्रोतले बताएका छन् । 

माओवादी केन्द्रका एक जना उच्च तहका नेताले त्यसको पुष्टि गर्दै प्रचण्डको पहिको विदेश भ्रमण भारतबाटै हुने बताएका छन् । 'प्रधानमन्त्रीले विश्वासको मत लिएपछि भारतीय अधिकारीहरुले विभिन्न तहमा छलफल गरेका छन् । औपचारिक निम्तो त आएको छैन, तर पनि पहिलो भ्रमण उतै हुने पक्का छ', उनले भने । 

आगामी मार्चमा हुने बोआओ फोरममा प्रधानमन्त्री प्रचण्डलाई लैजाने गरी चीनले पनि विभिन्न सूत्रमार्फत प्रस्ताव गरेको स्रोत बताउँछ । 

यसैबीच प्रचण्डलाई स्वागत गर्न हतारिएको भारतले विदेशमन्त्री एस जयशंकरलाई नेपाल पठाउन लागेको तर, अन्तिम समयमा उनको भ्रमण रोकिएको चर्चा पनि छ । पछिल्लो समय यहाँको राजनीतिक परिस्थिति भारतका लागि अनुकूल नभएको मूल्यांकन गरेर भ्रमण स्थगित गरिएको स्रोत बताउँछ । जयशंकर ति व्यक्ति हुन्,जसले विदेश सचिव भएका बेला प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा काठमाडौँ ओर्लिएर नेपालमा नयाँ संविधान जारी नगराउन राजनीतिक दलहरुलाई दबाब दिएका थिए । 

जानकार स्रोतले बताएअनुसार काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि यहाँको राजनीतिक परिदृश्यमा फेरबदल आउन सक्ने भारतको आंकलन थियो । तर, सोजेजस्तो परिणामका कुनै संकेत नदेखिएपछि जयशंकरको नेपाल भ्रमण स्थगित भएको हो । यहाँ परराष्ट्रमन्त्री नियुक्त नभएकाले भ्रमण रोकेको हुनसक्ने अनुमान पनि गरिएको छ । ‘प्रोटोकल नमिल्ने भएकाले भ्रमण हुनसक्ने सम्भावना छैन । किनभने अहिले परराष्ट्र मन्त्रालयको जिम्मेवारी स्वयम् प्रधानमन्त्रीसँग छ,’बालुवाटार स्रोतले भन्यो ।

टिप्पणीहरू