जनक शिक्षाले कागजमा चरम घोटाला गरेको भन्दै अख्तियारमा उजुरी

जनक शिक्षाले कागजमा चरम घोटाला गरेको भन्दै अख्तियारमा उजुरी

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा भएको घोटालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । काठमाडौँका यज्ञमणि न्यौपाने, सञ्जिव रेग्मी र कुशल केसीले अनुसन्धानको माग गर्दै उजुर गरेका हुन् । 

ठेकेदार, ठेकेदार कम्पनी, कन्टेनर मालिकसमेतको मिलोमतोमा विभिन्न फर्जी चिठ्ठीपत्र, चलान, पुर्जी बनाएर जनक शिक्षा सामग्री केन्द्रका कार्यालय प्रमुख, स्टोर किपर र खरिद प्रमुखले सम्भावित अपराधबाट जोगिन चलखेल गरेको दावी गर्दै उनीहरुले अख्तियारलाई छानविनको आग्रह गरेका छन्  । यससम्बन्धमा अनुसन्धान गरी तत्काल प्रमाणहरु लोप हुन नपाउने गरी सामाग्री बरामद गर्न उनीहरुको माग छ । 

साथै, उजुरीमा भ्रष्टाचारमा संलग्न व्यक्ति तथा कन्टेनर गाडीलाई नियन्त्रणमा लिई दोषीलाई हदसम्म सजायको माग गरिएको छ । 

गत पुस २६ गते जनक शिक्षा सामग्री केन्द्रका कार्यालय प्रमुख, स्टोर किपर र खरिद प्रमुखसमेतको संलग्नतामा खरिद गरेर ल्याइएका १३ कन्टेनर कागज गुणस्तरहीन भनि फिर्ता पठाइएको थियो । फिर्ता पठाइएको उक्त कागज मनोहरा खोलाभन्दा अगाडीको ग्यारेजमा लागि अर्को कन्टेनरमा राखेर साटफेर गरिएको र मात्रा घटबढ गराई जनकपुर तर्फबाट लागेको भनि किर्ते बिल भरपाई बनाएको उजुरीकर्ताको आरोप छ ।

पछि त्यही सामान जनक शिक्षा सामाग्री केन्द्रको स्टोरमा भण्डारण गरी बिल बिजक, कागजपत्र मिलाएर भ्रष्टाचार गर्न लागेको गोप्य सूचनाको आधारमा पुस २६ गते अपरान्ह १ बजे मनोहर खोलाको नजिकको ग्यारेज तथा नगर विकासको प्लानिङमा १ कन्टेनरबाट अर्को कन्टेरनमा कागज साटफेर गरेको तथ्यसहित फेला परेको पनि उजुरीमा उल्लेख छ ।

ति गाडीहरु पुस २७ गते सार्वजनिक बिदा भएकाले बिहानको साढे ८ बजेपछि स्टोरमा लगिएको तर, जनकपुरतर्फबाट नयाँ कागज आएको थाहा पाएपछि केन्द्रको भण्डारण कक्षमा कागज भण्डार गरिरहेको अवस्थामा फेला पारेर प्रहरी प्रशासनलाई सम्पर्क गरिएको पनि अख्तियारलाई जानकारी गराइएको छ । 

उल्लेखित भण्डारण कक्षभित्र दुई र जनक शिक्षा सामाग्रीभित्र दुई गरी चार वटा कन्टेनरका सवारी चालक, कन्टेनरका मालिक,  सञ्चारकर्मी, स्थानीयबासी तथा सुरक्षाकर्मी समेतको सहयोगमा अख्तियार कार्यालयमा जाहेरीका लागि लगिएको तर उक्त दिन सार्वजनिक बिदा परेकाले मौखिक रुपमा उजुरी दर्ता गरिएको पनि उनीहरुले स्मरण गरेका छन् ।

टिप्पणीहरू