मन्त्रीको भागबण्डा मिल्नै बाँकी,नयाँलाई शपथ ग्रहण आज

मन्त्रीको भागबण्डा मिल्नै बाँकी,नयाँलाई शपथ ग्रहण आज

राष्ट्रपति कार्यालय,शीतल निवासमा नयाँ मन्त्रीहरुको शपथ ग्रहणको तयारी गरिएको छ । हिजो केही राउण्ड र लामो समय छलफलमा बिते पनि एमाले,रास्वपा र राप्रपा खुशी हुँदा जसपा भने भागबण्डाप्रति असन्तुष्टि जनाएर बाहिरिएको छ । उसलाई अहिले बिहान मनाउन सकियो भने दिउँसो १ बजे सहजै शपथ कार्यक्रम हुन सक्छ ।

तर,सत्ता गठबन्धनबीच मन्त्रालयको भागबण्डा नमिलेका कारण आज बिहानसम्म मन्त्रीहरुको टुंगो लाग्न सकेको छैन । अहिले बिहान बालुवाटारमा बस्ने गठबन्धनको बैठकले मन्त्रालय टुंगो लगाउने बताइएको छ । हिजो बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच बालकोटमा र अपरान्हदेखि रातिसम्म बालुवाटारमा गठबन्धन दलका नेताहरुबीच लम्बेतान छलफल भए पनि मन्त्री हुनेहरुको नाम पेश भैसकेको छैन । 

हिजो रातिसम्म एमालेले ८, माओवादीले ४,राष्ट्रिय स्वतन्त्र पार्टीले ३,राप्रपाले ३ र जनमतले १ मन्त्रालय लिने अनौपचारिक सहमति भएको छ । तर,जनता समाजवादी पार्टीले ३ मन्त्रालयमा दाबी गरेको र दुई जना स्वतन्त्र सांसदहरु समेत मन्त्रीको चाहनामा रहेकाले आज बिहानको छलफल झन पेचिलो हुने सम्भावना छ । शुरुमा एमालेले ११ मन्त्रालय दाबी गर्दै आएकोमा घटेर ८ मा पुगेको र राष्ट्रपति एवम् सभामुखमा माओवादीले अडान नछाडेपछि त्यसको असर मन्त्रिमण्डल बिस्तारमा समेत परेको देखिन्छ । 

आजै दिउँसो ४ बजे बालुवाटारमा  प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठकमा पर्सि हुने सभामुखको निर्वाचन र यो महिनाभित्र हुने राष्ट्रपतिको निर्वाचन  मुख्य बिषय रहेको बालुवाटार स्रोतको भनाइ छ ।

टिप्पणीहरू