चुरो कुरो राष्ट्रपतिको, अडान उपराष्ट्रपतिको

चुरो कुरो राष्ट्रपतिको, अडान उपराष्ट्रपतिको

गत पुस २६ गते संसदमा भएको विश्वासको मतसम्बन्धी प्रस्तावमा नेपाली काँग्रेसले पक्षमा मतदान गरेपछि आगामी राष्ट्रपति र सभामुखको चर्चा बेग्लै ढंगले चल्यो । त्यसअघि पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमतिमा राष्ट्रपति एमालेलाई र प्रधानमन्त्री तथा सभामुख आलोपालोमा दुई दलले लिने भनिएको थियो । 

सोही क्रममा उपराष्ट्रपति माओवादीको भनेर दुबै अध्यक्षले सहमति गरेको एमाले खेमाको बुझाइ छ । पछिल्लो पटक सरकारको रिजर्भ फोर्सको रुपमा प्रधानमन्त्रीले काँग्रेसलाई अघि बढाउन खोजेपछि राष्ट्रपतिको चर्चा बेस्कन चल्न थालेको छ । त्यसमा देशी र विदेशी शक्तिले समेत चासो राखेको भन्दै एमाले झस्किएको पाइन्छ  । 

काँग्रेसले सकेसम्म राष्ट्रपति आफूले पाउनुपर्ने अडान र दबाब बढाउँदै लगेपछि बालकोटले माओवादीको भागमा रहेको उपराष्ट्रपति काँग्रेसलाई दिन सकिने प्रस्ताव अघि सारेको स्रोतको दाबी छ । सभामुख, राष्ट्रपतिलगायत महत्वपूर्ण राजकीय पद एमालेको पोल्टामा पर्ने र आफू सधैं दबिएर बस्नुपर्ने देखिएपछि प्रधानमन्त्री प्रचण्डले पटक पटक एमाले अध्यक्ष ओलीसँग लामो भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति र सभामुख काँग्रेसलाई छाड्न नसकिने एमालेको अडानपछि उपराष्ट्रपति फुत्किनसक्ने भयले प्रधानमन्त्रीले तारन्तार भेट गर्नुभएको एमाले वृत्तको बुझाइ छ । केही नेताले सामाजिक सञ्जालमार्फत उपराष्ट्रपति र उपसभामुखमा काँग्रेसलाई विचार गर्न सकिने धारणा दिएपछि माओवादी पनि झस्किएको देखिन्छ । यसो गर्दा उपसभामुखमा आँखा लगाएको रास्वपा पनि झस्किएको छ ।

‘विभिन्न कोणबाट आएका प्रस्ताव र दबाबलाई थेग्न प्रधानमन्त्रीले एमाले नेतृत्वसँग निरन्तर संवाद गरिरहनुभएको हो । सर्वदलीय बैठक र एमालेको चर्को अडानका कारण काँग्रेसको माग पूरा गर्न नसकिएको निश्कर्ष सुनाउन पनि यसि गर्नु उहाँको बाध्यता हो,’ माओवादी स्रोतको भनाइ छ । यसो गर्दा आफ्नो भागको उपराष्ट्रपति सुरक्षित हुने भएकाले माओवादीले भेटघाटको श्रृंखलालाई निरन्तरता दिएको बताइन्छ । यता माओवादीले पार्टी नेतृत्वसँग भएको अनौपचारिक छलफलमा यसअघि नै उपराष्ट्रपति नछाड्ने निर्णय गरेको थियो ।

टिप्पणीहरू