दौरा सुरुवाल लगाएर शीतल निवास जाने तयारी गर्दागर्दै बालकोटमा नाम काटिएपछि...

दौरा सुरुवाल लगाएर शीतल निवास जाने तयारी गर्दागर्दै बालकोटमा नाम काटिएपछि...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा आठ मन्त्री र एक राज्यमन्त्री पाएको सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीको कोटाबाट एकजनालाई मन्त्री सिफारिस गरेको छ । राष्ट्रपतिको 'मान राख्न' एकजना उहाँको भागमा पार्नै पर्ने भएपछि अन्तिम समयमा केही नाम भने काटकुटमा परेका छन् । 

कपिलवस्तुबाट निर्वाचित सांसद बलराम अधिकारीको नाम मन्त्री बन्ने सूचीबाट काटिएको हो । महासचिव शंकर पोखरेल निकट उनी आज बिहान नौ बजेसम्म मन्त्रीकै सूचीमा थिए । तर,अध्यक्ष केपी शर्मा ओली,महासचिव पोखरेल र उपमहासचिव विष्णु रिमालले अन्तिममा अधिकारीको नाम काट्दै राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्याललाई मन्त्री बनाउने निर्णय लिए ।

एमाले स्रोतका अनुसार डा. पौड्याल राष्ट्रपति भण्डारी निकट हुन् । उनलाई राष्ट्रपतिकै जोडबलमा मन्त्री बनाउन एमाले अध्यक्षसहितका नेताहरु बाध्य भएको बताइन्छ । पौडेललाई परराष्ट्र मन्त्री बनाउने गरी एमालेले उनको नाम प्रधानमन्त्रीलाई बुझाइसकेको छ ।   

यता, आफू मन्त्री हुने पूर्ण संकेत पाएका अधिकारी भने सपथका लागि चाहिने दौरा सुरुवाल लगाएर राष्ट्रपति कार्यालय शीतल निवास जाने तयारीमा थिए । तर, महासचिव पोखरेलको फोन आएपछि उनी कोठामै रोकिएका छन् । 

एमाले अध्यक्षले अर्कोपटक मन्त्री बनाउने बाचा गरेर अधिकारीलाई 'थामथुम' पारेको पनि त्यही स्रोत बताउँछ ।

टिप्पणीहरू