पृथ्वीसुब्बा र छविलाललाई पछि पार्दै झापाका देवराज सभामुख

पृथ्वीसुब्बा र छविलाललाई पछि पार्दै झापाका देवराज सभामुख

नेकपा एमालेले यसअघि चर्चामै नरहेका अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाका नेता देवराज घिमिरेलाई सभामुख बनाउने तयारी गरेको छ । सत्ता गठबन्धनको भागबण्डामा सभामुख पद आफ्नो भागमा पारेको एमालेबाट यसअघि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माको नाम चर्चामा थियो । सभामुखका लागि उनीहरुले विभिन्न तहमा लबिङसमेत थालेका थिए । तर,अध्यक्ष ओलीको चाहानाअनुसार घिमिरेलाई सभामुख बनाउने तयारी भैरहेको एमाले स्रोतले बताएको छ । 

झापा-२ बाट प्रतिनिधिसभामा निर्वाचित घिमिरेलाई ओलीको विश्वासपात्र मानिन्छ । उनी एमाले प्रदेश–१ इञ्चार्ज हुन् । पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी २०५६ सालमै राष्ट्रियसभा सदस्य बनेका थिए । 

पटक-पटक सांसद जितेको,मुख्यमन्त्री हुँदा कुनै पनि विवादमा नपरेको र पार्टीमा पनि सिनियर भएका कारण गुरुङलाई सभामुख बनाउनुपर्ने मत पनि एमालेमा छ । त्यस्तै, विश्वकर्मालाई सभामुख बनाएर उत्पीडित समुदायको पक्षमा उभिएको सन्देश दिनुपर्ने तर्क पनि सुनिएको छ । तर,अन्तिम निर्णय अध्यक्ष ओलीले नै गर्ने भएकाले अरुका चाहनाले खास अर्थ राख्दैन । 

अध्यक्षको रोजाईमा आफ्नै जिल्लाका घिमिरे परेपछि गुरुङ र विश्वकर्मा सभामुखको दौडबाट बाहिरिएको एमालेका एक नेताले दावी गरे । उनका अनुसार पहिलोचोटी माननीय भएका घिमिरे नै सभामुख हुने लगभग निश्चित छ । 

संघीय संसद सचिवालयले आउँदो बिहीबार सभामुखका लागि निर्वाचन गर्ने कार्यसूची बनाएको छ । त्यसका लागि बुधबार नै उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक भएको छ । सत्तागठबन्धनमा सभामुख एमालेले पाउने सहमति भइसकेको छ । यता,नेपाली कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने बताए पनि कसलाई उठाउने भन्ने निर्णय गरेको छैन । सत्ता गठबन्धनसँग बहुमत भएकाले एमालेबाट उठ्ने उम्मेदवार नै सभामुखको कुर्सीमा पुग्ने निश्चित देखिन्छ ।

टिप्पणीहरू